एसिसी यू-१९ एसिया कपमा बंगलादेशले यूएईलाई पराजित गरेको छ।
शनिबार दुबईको आइसिसी एकेडेमीमा भएको खेलमा बंगलादेशले युएईलाई ६१ रनले हराएको हो।
बंगलादेशले दिएको २२९ रनको लक्ष्य पछ्याएको युएई ४७.४ ओभरमा अल आउट हुँदै १६७ रनमात्रै बनाउन सक्यो।
युएईका लागि हार्दिक पाइले नटआउट ३० रन बनाए। त्यसअघि तनिस सुरीले २७, मरूफ मर्चन्टले २५, आर्यान्स शर्माले २२, अक्षत रायले १६, अम्मर बदामीले १४ रनको योगदान गरे।
बलिङमा बंगलादेशका महफजुर रहमान रब्बी र पर्वेज रहमान जिबोनले ४/४ विकेट लिए। इक्बाल हुसेन इमोम र चौधुर रिजवानले एक/एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २२८ रन बनाएको थियो।
बंगलादेशका लागि ओपनर अशिकर रहमन शिब्लीले सर्वाधिक ७१ रन बनाए। उनले १०२ बलमा ३ चौका र १ छक्का हाने।
अर्का ओपनर जिसन आलमले ५६ बलमा ५ चौका प्रहार गरी ४२ रन बनाए।
अरिफुल अश्लामले २२, इक्बाल हुसेनले १८ र कप्तान चौधुर रिजवान र रफी उजमानले १२/१२ रन जोडे।
बलिङमा युएईका ध्रुव परासरले ६ विकेट लिए। त्यस्तै आयान अफ्जल खानले २ तथा अम्मर बदामी र हार्दिक पाइले १/१ विकेट लिए।
योसँगै यू-१९ एसिया कपमा चार खेल सकिएका छन्।
आजै भएको अर्को खेलमा श्रीलंकाले जापानलाई ७ विकेटले पराजित गरेको छ।
शुक्रबार भएको समूह ‘ए’को खेलमा भारत र पाकिस्तान विजयी भएको थियो। शुक्रबार भारतले अफगानिस्तान र पाकिस्तानले नेपाललाई पराजित गरेको थियो।
नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छ भने समूह ‘बी’मा श्रीलंका, युएई, बंगलादेश र जापान छन्।
दुई समूहका शीर्ष दुई/दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनल जित्ने दुई टिमले पुस १ गते फाइनल खेल्नेछ।