घरेलु टिम वेस्ट इन्डिजले इंग्ल्यान्डविरूद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ। वेस्ट इन्डिजले घरेलु मैदानमा इंग्ल्यान्डविरूद्ध २५ वर्षपछि सिरिज जितेको हो।
शनिबार राति ब्रिजटाउनमा भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजले डिएलएस मेथडमा ४ विकेटको जित निकाल्दै सिरिज २-१ ले जितेको हो।
यसअघि पहिलो खेलमा वेस्ट इन्डिज र दोस्रो खेलमा इंग्ल्यान्ड विजयी भएका थिए।
शनिबार वर्षाले प्रभावित खेलमा इंग्ल्यान्डले ४० ओभरमा ९ विकेटको क्षतिमा २०६ रन जोडेको थियो।
इंग्ल्यान्डका लागि लियाम लिभिङस्टोनले सबैभन्दा बढी ४५ रन जोडेका थिए। बलिङमा वेस्ट इन्डिजका म्याथ्यु फोर्ड र अल्जारी जोशेफले ३-३ विकेट लिए।
डिएलएस मेथडमा ३४ ओभरमा १८८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा ३१.४ ओभरमा पूरा गर्यो। वेस्ट इन्डिजका लागि केयसी कार्टी ५० रनको योगदान गरे।