एसिसी यू-१९ एसिया कपमा आज नेपालले अफगानिस्तानविरूद्ध पहिले बलिङ गर्ने भएको छ।
युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।
नेपाल र अफगानिस्तान दुबैले समूह चरणको दोस्रो खेल खेल्दैछन्।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।
सेमिफाइनल सम्भावना जिवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने दबाव छ।
नेपाल र अफगानिस्तान यू-१९ को पछिल्लो पाँच भेटमा पाँचै पटक अफगानिस्तान विजयी भएको छ।
आजै हुने समूह ‘ए’को अर्को खेलमा भारत र पाकिस्तान भिड्दै छन्। यी दुई टोलीलाई पनि सेमिफाइनलमा स्थान सुरक्षित बनाउन आजको खेल जित्नुपर्ने दबाव छ।
८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’मा छन्।
दुई समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जितेका दुई टिमले पुस १ गते एसिसी यू-१९ एसिया कपको उपाधिका लागि खेल्नेछन्।
नेपाली टिम: देव खनाल (कप्तान), गुल्सन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, , दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा।