एसिसी यू-१९ एसिया कपमा नेपालका दिपेश कँडेलले अफगानिस्तानका रहिमुल्लाह जुरमति र जाम्सीद जार्दानबीचको ८१ रनको साेझेादारी तोडेका छन्।
दिपेशले रहिमुल्लाहलाई २८औं ओभरको अन्तिम बलमा सुवास भण्डारीबाट क्याच गराए। रहिमुल्लाहले ६५ बलमा २ चौका हिर्काए।
उनी आउट हुँदा अफगानिस्तानले २८ ओभरमा ४ विकेटको क्षतिमा ११४ रन जोडेको थियो।
रहिमुल्लाहले चौथो विकेटका लागि जाम्सीदसँग ८१ रनको साझेदारी गरे। जाम्सीले अर्धशतक प्रहार गरेर खेलिरहेका छन्।
त्यसअघि हेमन्त धामीले सातौं ओभरमा लगातार दुई विकेट लिएका थिए। उनले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजइ र चौथो बलमा खालिद तानिवालको विकेट लिए। खालिद १० र अक्रम मोहम्मदजई शून्य रनमै आउट भए।
यसअघि दोस्रो ओभरमै अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिललाई नेपालका गुल्सन झाले दोस्रो ओभरमा आउट गरे। उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।
खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले ब्याटिङ गरिरहेको हो।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।
सेमिफाइनल सम्भावना जिवित राख्न दुवै देशलाई आजको खेल जित्नुपर्ने दबाव छ।
नेपाल र अफगानिस्तान यू-१९ को पछिल्लो पाँच भेटमा पाँचै पटक अफगानिस्तान विजयी भएको छ।
८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’मा छन्।
दुई समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जितेका दुई टिमले पुस १ गते एसिसी यू-१९ एसिया कपको उपाधिका लागि खेल्नेछन्।