एसिसी यू-१९ एसिया कपमा अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले सात ओभरभित्रै दुई विकेट गुमाएको छ।
ओपनिङ ब्याटर विपिन रावल पहिलो ओभरको चौथो बलमा फारुदूनको बलिङमा विकेट पछाडि शून्यमा क्याच भए। यस्तै ६.१ ओभरमा दिपक बोहरा १३ बलमा १५ रनमा जोडेर आउट भए। उनी पनि फारुदूनकै बलमा आउट भए। त्यतिबेला नेपालले २ विकेटको क्षतिमा ३३ रन जोडेको थियो।
अफगानिस्तान २६१ रनमा अलआउट
दुबईको आइसिसी ओभल-२ मा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा २६१ रनमा अलआउट भयो।
अफगानिस्तानका जाम्सीद जार्दानले शतक प्रहार गरे। अन्तिम ओभरमा रिटायर्ड हट हुनुअघि उनले १०६ रन जोडे। उनले १५२ बलमा ८ चौका प्रहार गरे।
जाम्सीदले चौथो विकेटका लागि रहिमुल्लाह जुरमतिसँग ८१ रनको साझेदारी गरेका थिए। सो साझेदारी नेपालका दिपेश कँडेलले तोडेका थिए।२८औं ओभरको अन्तिम बलमा सुवास भण्डारीबाट क्याच हुनुअघि रहिमुल्लाहले ६५ बलमा २ चौकाको मद्दतमा ३५ रन जोडे।
रहिमुल्लाहसँगै नुमान शाहले पनि जाम्सीदसँग ९७ रनको साझेदारी गर्दा अफगानिस्तानको स्कोर बढेको थियो। नुमानले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६० रन जोडेको थियो।
अफगानिस्तानका खलिल अहमद १३ रन र कप्तान नशीर खान ४ रनमा आउट भए।
त्यसअघि हेमन्त धामीले सातौं ओभरमा लगातार दुई विकेट लिए। उनले सातौं ओभरको तेस्रो बलमा अक्रम मोहम्मदजइ र चौथो बलमा खालिद तानिवालको विकेट लिए। खालिद १० र अक्रम मोहम्मदजई शून्य रनमै आउट भए।
दोस्रो ओभरमै अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिललाई नेपालका गुल्सन झाले दोस्रो ओभरमा आउट गरे। उनले ९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।
बलिङमा नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुल्सन झाले २-२ विकेट लिए। आकाश चन्द र दिपेश कँडेलले १- १ विकेट हात पारे।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।
८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’मा छन् भने श्रीलंका, बंगलादेश, युएई र जापान समूह ‘बी’मा छन्।
दुई समूहको शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जितेका दुई टिमले पुस १ गते एसिसी यू-१९ एसिया कपको उपाधिका लागि खेल्नेछन्।