यू-१९ एसिया कप २०२३ मा नेपालले खराब प्रदर्शन गर्यो। युएईको दुबईको भएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको थियो।
समूह ‘बी’ भन्दा तुलनात्मक रुपमा बलिया प्रतिद्वन्द्वी पाएको नेपालले समूहमा भारत, पाकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्यो।
तीनै खेलमा नेपाल पराजित हुँदै जितबिहीन बनेर घर फर्कन बाध्य भयो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रन र अन्तिम खेलमा मंगलबार भारतसँग १० विकेटले पराजित भयो।
एसिया कप खेल्न जानुअघि नेपाली टिमका कप्तान देव खनालले टेस्ट टिमलाई स्तब्ध पारेर सेमिफाइनल पुग्ने लक्ष्य रहेको बताएका थिए।
सिनियर टिमको समेत अनुभव रहेका देवसँगै अर्का सिनियर टिमका अलराउन्डर गुल्सन झा युवा टिममा हुँदा नेपालले राम्रो खेल्ने अपेक्षा गरिएको थियो।
तर दुवै खेलाडीले यू-१९ एसिया कपमा खराब प्रदर्शन गरे।
मंगलबार भारतसँगको खेलमा नेपाली ब्याटिङ लाइन ध्वस्त हुँदा देव र गुल्सनमाथि टिमको आसा थियो। तर दुवै खेलाडी सस्तैमा आउट हुँदा नेपाल केवल ५२ रनमा अलआउट हुन पुग्यो। खेलमा नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
देवले तीन खेलमा कुल २६ रन (०,२४,२) मात्र जोड्न सके। उनी पाकिस्तानविरूद्ध डकआउट हुँदा अफगानिस्तानविरूद्ध २४ रन बनाए। मंगलबार भारतविरुद्ध कप्तान देव २ रनमै आउट भएका थिए।
सिनियर टिममा उत्कृष्ट प्रदर्शन गरे पनि गुल्सन युवा टिममा चल्न सकेनन्। उनले तीन खेलमा कुल २२ रन (१, १७, ४) मात्र बनाए। पाकिस्तानविरूद्ध १ रनमै आउट भएका गुल्सनले अफगानिस्तानविरूद्ध १७ रन बनाए। मंगलबार भारतविरूद्ध गुल्सन ४ रनमा आउट भए।
बलिङमा गुल्सनले तीन खेलमा चार विकेट लिन सके। उनले पाकिस्तानविरुद्ध २ विकेट लिँदा ५४ रन खर्चिएका थिए। यस्तै अफगानिस्तानसँग उनले २ विकेट लिएर ४६ रन दिएका थिए। भारतसँग भने उनले विकेट लिन सकेनन्।
एसिया कपपछि नेपालको युवा टिमले आगामी जनावरीमा दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप खेल्दैछ। विश्वकपमा नेपालले एसिया कपका प्रतिद्वन्द्वी पाकिस्तान र अफगानिस्तानसँगै न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। एसिया कपमा खराब प्रदर्शन गरेका दुवै सिनियर खेलाडीलाई विश्वकपमा भने आफ्नो प्रदर्शन सुधार गर्ने मौका हुनेछ।