भारत र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० सिरिज एक एकको बराबरीमा सकिएको छ।
दोस्रो खेलमा पाँच विकेटले पराजित भएको सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतले जोहानेसबर्गमा बिहीबार भएको तेस्रो खेलमा भने १०६ रनको शानदार जित दर्ता गरेको हो। यसअघि सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो।
आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपलाई ध्यानमा राखेर यो सिरिज महत्वपूर्ण थियो।
भारतीय चयनकर्ताहरूले सिरिजका लागि बेन्च स्ट्रेंथ प्रयोग गर्ने निर्णय गरेका थिए। भारतीय युवा टिमलाई दक्षिण अफ्रिका भ्रमणमा मौका दिइएको थियो।
दुई खेलपछि कप्तान सूर्यकुमार यादवले टी-२० मा आफूलाई प्रमाणित गरेका छन् भने स्पिनर कुलदिप यादवले आफ्नो फर्म जारी राखे।
३३ वर्षीय सूर्यकुमार एकदिवसीय विश्वकपमा प्रभाव पार्न असफल भएका थिए। तर दक्षिण अफ्रिका भ्रमणमा रहेको टी-२० सिरिजमा कप्तान र ब्याट्सम्यानको हैसियतमा उनले अपेक्षाअनुरुप खेले।
यसअघि दोस्रो खेलमा यशस्वी जैसवाल र शुभमन गिल शून्य रनमा आउट भए। त्यसपछि तिलक वर्मासँगै कप्तान सूर्यकुमार यादवले जिम्मेवारी सम्हालेका थिए। सूर्यले ३६ बलमा १५५.५५ को स्ट्राइक रेटमा ५६ रन बनाएका थिए। खेललमा रिंकु सिंहले अर्धशतक बनाउँदा ३९ बलमा ६८ रनको बनाए। सूर्य र रिंकुबीचको ७० रनको साझेदारीले सात विकेटमा १८० रन पुर्यायो। तर पनि भारतले दोस्रो खेलमा जित निकाल्न सकेन।
जोहानेसबर्गमा भएको तेस्रो खेलमा सूर्यले शतक प्रहार गरे। सूर्यले आफ्नो टी-२० करियरको चौथो शतक ५५ बलमा पूरा गर्दै रोहित शर्माको बराबरी गर्दै कीर्तिमान बनाए।
भारतका लागि रोहितले टी–२० मा चार शतक प्रहार गरेका थिए। उनले शतक प्रहार गर्दा आठ छक्का र सात चौका सामेल थिए। उनले प्लेयर अफ द म्याच र प्लेयर अफ दि सिरिजको उपाधि पनि जिते।
खेलमा पहिले ब्याटिङ गरेको भारतले सूर्यको शतकमा २०१ रन जोड्दा जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका १३.५ ओभरमा ९५ रनमै अलआउट भयो।
खेलको क्रममा मोहम्मद सिराजको बलमा रिजा हेन्ड्रिक्सलाई क्याच गर्न खोज्दा उनी घाइते भए र मैदान छाड्नुपरेको थियो । तर, उनको चोट गम्भीर छैन।
कुलदीप यादवले जोहानेसबर्ग टी-२० आफ्नो लागि अविस्मरणीय बनाए। दक्षिण अफ्रिकालाई जितका लागि २०२ रनको लक्ष्य थियो तर आयोजक टोली १३.५ ओभरमा ९५ रनमै सीमित भयो ।
आफ्नो जन्मदिनमा कानपुरका बायाँ हाते अनर्थोडक्स स्पिनरले १७ रन दिएर पाँच विकेट लिए। अन्तिम ६ बलमा उनको बलिङ फिगर १-०-१-४ थियो।
टी-२० मा कुलदीप यादवको यो उत्कृष्ट प्रदर्शन हो। यसअघि सन् २०१८ मा उनले ओल्ड ट्राफोर्डमा इङ्ल्यान्डविरुद्ध २४ रन दिएर पाँच विकेट लिएका थिए।
सिरिजमा शुभमन गिलले शून्य र आठ रनको मात्र जोड्न सके। यस्तै तेस्रो नम्बरमा ब्याटिङ गरेका तिलक बर्माले दोस्रो खेलमा २० बलमा २९ रनको इनिङ खेले पनि जोहानेसबर्गमा भएको तेस्रो खेलमा खाता पनि खोल्न सकेनन्।
ओपनर जैसवालले पहिलो खेलमा ब्याटिङ गर्न सकेनन् तर जोहानेसबर्गमा उनले ४१ बलमा ६० रन बनाए। सिरिजमा शीर्ष ब्याट्सम्यान सूर्यकुमार, रिंकु सिंह र यशस्वी जैसवाल बने। सूर्यकुमारले १५६, रिंकु सिंहले ८२ र यशस्वी जैसवालले ६० रन बनाए।
कुलदीपले सर्वाधिक ६ विकेट लिए भने मुकेश कुमारले ३ र रविन्द्र जडेजाले २ विकेट लिए।