घरेलु टिम वेस्ट इन्डिज र इंग्ल्यान्डबीच जारी पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले रोमाञ्चक जित हात पारेको छ।
शनिबार ७ विकेटको जित निकाल्दै इंग्ल्यान्डले सिरिजमा वेस्ट इन्डिजको अग्रता समेत २-१ मा झारेको छ।
जेन्ट जर्जमा वेस्ट इन्डिजले दिएको २२३ रनको लक्ष्य इंग्ल्यान्डले ३ विकेटको क्षतिमा एक बल खेल्न बाँकी छदा पूरा गर्यो।
अन्तिम ओभरमा जितका लागि इंग्ल्यान्डलाई २१ रन चाहिएको थियो। जसमा इंग्ल्यान्डका ह्यारी ब्रुकले वेस्ट इन्डिजका आन्द्रे रशेललाई पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा लगातार छक्का, चौथो बलमा २ रन र पाँचौ बलमा छक्का प्रहार गर्दै आफ्नो टिमलाई रोमाञ्चक जित दिलाए। ब्रुकले ७ बलमा नटआउट ३१ रन जोडे। जसमा १ चौका र ४ छक्का समावेश रहे।
त्यसअघि ओपनर फिल साल्टले बनाएको नटआउट १०९ रन इंग्ल्यान्डको जितको आधार बन्यो। उनले ५६ बलमा ४ चौका र ९ छक्का प्रहार गरेका थिए। कप्तान जोस बटलरले ३४ बलमा ५१ रन बनाउदा इंग्ल्यान्डले आक्रामक सुरुवात गरेको थियो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा २२२ रन जोड्यो। उसका लागि निकोलास पूरनले ४५ बलमा ८२ रन र कप्तान रोभमन पावेलले २१ बलमा ३९ रन बनाए।