प्रधानमन्त्री कप २०८० को पुरुष छनोटअन्तर्गत काठमाडौं जिल्ला छनोट प्रतियोगिता पुस ३ गतेदेखि सुरु हुँदैछ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा १२ टिमले भाग लिँदैछन्। १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ।
जसमा समूह ‘ए’ मा ग्रेट हिमालयन क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब र पुष्पलाल स्पोर्ट्स क्लब परेका छन्। यस्तै समूह ‘बी’ मा क्रिकेट एक्सिलेन्स सेन्टर, ओएसिस क्रिकेट एकेडेमी र जेम्स थन्डर्स क्रिकेट एकेडेमी छन्।
समूह ‘सी’ मा नेक्सस क्रिकेट एकेडेमी, न्यु भिजन क्लब, डिएभी क्रिकेट एकेडेमी रहेका छन् भने समूह ‘डी’ मा महावीर क्लब, हिमालयन क्रिकेट एकेडेमी र फरेवर ब्वाइज क्लब रहेका छन्।
प्रतियोगिताका खेलहरु लिग कम नकआउटको आधारमा संचालन हुनेछन्। मुलपानी मैदानमा संचालन हुने प्रतियोगिताको पहिलो खेल पुस ३ मा ग्रेट हिमालयन र पुष्पलालबीच विहान ८ बजे हुनेछ। दिनमा दुई खेल सञ्चालन हुने समूह चरणका सबै खेल २५ ओभरको हुनेछन्।
चार समूहका शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल र फाइनल ५० ओभरको हुनेछन्।
प्रत्येक खेलको प्लेयर्स अफ दि म्याचलाई आइटेल ब्रान्डको मोबाइल र ट्रफी दिइनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई श्रेष्ठ टेलरिङको प्रायोजनमा सुट र आइटेल ब्रान्डको मोबाइल प्रदान गरिनेछ।