प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बागमतीले मधेश प्रदेशलाई २८ रनले पराजित गर्यो।
बागमतीले दिएको ११८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ५ विकेटको क्षतिमा ८९ रन मात्र जोड्न सक्यो।
मधेशका लागि पूजा महतोले ३५ रन जोडिन् भने अनुराधा चौधरीले २१ रन र प्रतिमा साहले नटआउट १५ रन बनाए।
बलिङमा बागमतीकी कप्तान अस्मिना कर्माचार्यले २ विकेट र मनिषा उपाध्यायले १ विकेट लिए। बागमतीले मधेशका दुई ब्याटरलाई रनआउट गर्यो।
टस जितेको मधेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले ४ विकेटको क्षतिमा ११७ रन जोड्यो।
बागमतीका लागि यशोदा विष्टले नटआउट ४७ रन र कप्तान अस्मिना कर्माचार्यले नटआउट ३० रन जोडे। दुईबीच नटआउट ७२ रनको साझेदारी भएको थियो।
त्यसअघि ११ ओभर चल्दै गर्दा ४ विकेट गुमाउदा बागमतीले ४५ रन मात्र जोड्न सकेको थियो।
बलिङमा मधेशकी पूजा महतोले २ विकेट लिन सफल भइन्।
यता मुलपानी मैदानमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्यो।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपिएफले १ विकेटको क्षतिमा १६.१ ओभरमै पार गर्यो।
एपिएफकी ओपनर ज्योती पाण्डेले नटआउट ४९ रन र इन्दू बर्माले नटआउट ३१ रन जोडिन्। पाण्डेले ४८ बलमा ९ चौका र बर्माले ४४ बलमा ४ चौका हिर्काए।
त्यसअघि कप्तान सीता रानामगर ४ रनमै आउट भएकी थिइन्।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा ८७ रन जोड्यो। सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रन जोडिन्।
बलिङमा एपिएफकी सोनु खड्काले २ विकेट लिँदा सुमन विष्ट, करुणा भण्डारी र इन्दू बर्माले १-१ विकेट लिए।
आजै भएका खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेट तथा कोशी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेका छन्।