'मेरो त जीवन भनेकै क्रिकेट हो। पूरा जिन्दगी यसैमा सुम्पिएकी छु।'
यसो भन्ने खेलाडी हुन् बैतडीकी रितु कनौजिया। सुदूरपश्चिम प्रदेशले रितुको कप्तानीमा यही पुस ५ गते काठमाडौंमा सुरू भएको प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा टिम पठाएको छ।
प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई नै दिलाउने रितुको लक्ष्य छ। उनले त्यसको तयारी गरेकी छन्। आफ्नो नेतृत्वले टिम बलियो बनोस् र सोहीअनुसार सबै खेलाडीले प्रदर्शन गरून् भन्ने उनको कामना छ।
रितु ४२ वर्षकी भइन्। खेलमा उमेरले साथ छोड्दै गए पनि मैदानमा उनको जोसजाँगर कम भएको छैन। इच्छाशक्ति र क्रिकेटप्रतिको समर्पणले उनलाई मैदानमा उतार्ने गरेको छ।
रितुका अनुसार महिला क्रिकेटर अनेक कारणले खेलबाट छिट्टै पलायन हुनुपर्ने अवस्था छ तर उनी सबै चुनौती सामना गर्दै चार दशकको उमेरमा पनि क्रिकेट मैदानमा छिन्।
'मसँग फिटनेस लेभल छ। मैले आफ्नो गेममा राम्रो गरिरहेकी छु। मभन्दा राम्रो खेल्ने नयाँ खेलाडी आएपछि संन्यास लिन्छु,' उनी भन्छिन्, 'त्यतिन्जेल सिकाउने मात्र होइन खेल्ने काम पनि गर्छु।'
उनी खेलका लागि आफूलाई तन्दुरूस्त राख्न दैनिक व्यायाम गर्छिन्। खानपिनमा पनि ख्याल गर्छिन्।
रितुलाई क्रिकेटबाट संन्यास लिन सुझाव नआएको होइन, धेरै पटक आइसक्यो तर उनले मैदान त्यागेकी छैनन्। अर्को पटक आयोजना हुने 'प्रधानमन्त्री कप महिला टी–२०' खेलेर मात्र संन्यास लिने अठोट छ।
रितु महिला राष्ट्रिय टिमकी पूर्वकप्तान हुन्। उनी अलराउन्डर खेलाडी हुन्, बलिङ र ब्याटिङ दुबै गर्छिन्।
उनका बुबा नेपाल प्रहरीबाट सेवानिवृत्त भए। आमा उनी सानै छँदा बितिन्। बुबाले आमाको झैं माया दिएर तीन छोरी र एक छोरा हुर्काए।
रितुका भाइ नेपाल प्रहरीमा थिए। सेवामा छँदै कोरोना भाइरस संक्रमणले मृत्यु भयो। दिदी र बहिनी रोजगारीका लागि उनीहरूका परिवारजनका साथ भारतमा छन्।
हाल बुबा अशक्त छन्। क्रिकेट खेल्ने र सिकाउने कामसँगै बुबाको सहारा पनि रितु नै हुन्। उनी अविवाहित छिन्।
रितु बाल्यकालमा घरनजिकै बालमन्दिरको चौरमा दाइहरूसँग क्रिकेट खेल्थिन्। दाइहरूसँग खेल्ने उनी एक्ली केटी थिइन्। उनी टिभीमा पनि क्रिकेट खेल हेर्थिन्।
छोरी भएर केटाहरूसँग क्रिकेट खेलेको भन्दै कतिपय व्यक्तिहरू कुरा काट्थे तर उनले बुबाको साथ पाइन्।
उनले २५ वर्षको उमेरमा २०६४ सालमा पहिलोपटक बैतडीमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता खेलिन्। त्यहाँबाट क्षेत्रीय खेलका लागि काठमाडौं पुगिन्। क्षेत्रीय खेलपछि राष्ट्रिय टिममा छनौट भइन्।
त्यही वर्ष मलेसियामा उनले खेलेको प्रतियोगितामा नेपाल दोस्रो भयो। खेलमा उनले ओपनिङ ब्याटिङ र बलिङ गरेकी थिइन्।
अर्को वर्ष, २०६५ मा, पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले क्रिकेटमा स्वर्ण पदक जित्यो जसमा रितुको पनि योगदान थियो।
उनी २०६६ मा राष्ट्रिय महिला सिनियर टोलीको कप्तान बनिन्।
रितुले अहिलेसम्म ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन्। मलेसिया, चीन, थाइल्यान्ड र बंगलादेशमा भएका खेलमा सहभागी भइन्।
उनले २०६४ सालदेखि २०७६ सालसम्मको १२ वर्ष सिनियर टिमबाट क्रिक्रेट खेलिन्। एपिएफ विभागीय टिमबाट पनि खेलिन्। हाल सुदूरपश्चिम टिममा छिन्। चार वर्षअघि घुँडामा चोट लागेपछि राष्ट्रिय टोलीमा छैनन्।
प्रधानमन्त्री महिला टी–२० क्रिकेट प्रतियोगिताका सबै संस्करण उनले खेलेकी छन्।
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न राष्ट्रिय टिममा रहनुपर्छ। उनी यसमा छैनन्। अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न छाडे पनि घरलु प्रतियोगिता छाडेकी छैनन्।
रितु बाल्यकालमा रमाइलो गर्ने रहरले दाइहरूसँग क्रिकेट खेल्थिन्। दिन बित्दै जाँदा त्यही रहर जीवनबाट अभिन्न भयो। उनले क्रिकेट सिक्दै गर्दा छोरीले खेल्नु सजिलो काम थिएन। प्रहरी बुबा र शिक्षक काकाको सहयोग र हौसलाले उनी खेलाडी भइन्।
उनले भनिन्, 'बुबाले कहिल्यै पनि छोरीले खेल्नुहुन्न, छोरीलाई खेलमा लाग्न गाह्रो हुन्छ भन्नुभएन। सधैं हौसला दिनुभयो।'
उनलाई खेल सामग्री जुटाउन पनि बुबाले नै सहयोग गरे। अहिलेका सिकारुलाई नेपाल क्रिक्रेट संघ (क्यान) ले पनि सघाउँछ।
रितुका सहयात्री खेलाडीमध्ये कतिले बिहेपछि खेल्न छाडे। कसैले आमा भएपछि छाडे। रितु अझै खेल्दैछिन्। जिल्ला, प्रदेश, विभागीय र राष्ट्रिय टिमबाट खेलिन्।
रितुले १६ वर्ष राष्ट्रिय टिममा रहेर खेलिन् तर खेलाडीका रूपमा क्यानबाट डेढ वर्ष मात्र तलब पाइन्।
उनी भन्छिन्, 'मैले क्रिकेटबाट नामबाहेक अन्य सुविधा पाएकी छैन। केही पनि सुविधा नपाउँदा राम्रो खेल्ने खेलाडीहरू विदेश जाने गरेका छन्।'
रितुले अब २ वर्ष क्रिक्रेट खेल्ने र त्यसपछि पूर्णरूपमा प्रशिक्षक बन्ने सोचेकी छन्। उनलाई गृहजिल्ला बैतडीको दशरथचन्द नगरपालिकाले नगरका प्रत्येक वडाबाट नयाँ खेलाडी उत्पादनका लागि प्रशिक्षक बन्न आग्रह गरेको छ।
जिल्लामा नयाँ खेलाडी उत्पादन गर्न हाल उनी दशरथचन्द नगरपालिका–५ स्थित सुन्दरखाली क्रिक्रेट मैदानमा ४० जनालाई क्रिक्रेट सिकाउँदै छिन्। यसमा महिला र पुरुष दुबै छन्। उनी आफू पनि सोही नगरपालिकाकी स्थायी बासिन्दा हुन्।
उनका अनुसार दीपेन्द्र चन्द क्लबबाट सामान दिएर सहयोग गरेका छन्। कहिलेकाहीँ खाजाका लागि पनि सहयोग प्राप्त हुने गरेको छ।
नयाँ खेलाडीका लागि वडा, जिल्ला, प्रदेश र केन्द्रस्तरका प्रतियोगिता आयोजना हुनुपर्ने उनको धारणा छ। अभ्यास गर्न क्यानले सहयोग गरे पनि खेल देखाउन लामो समय प्रतियोगिता पर्खनु पर्दा खेलाडीहरू निरुत्साहित हुने गरेका छन्।
रितुको सक्रियताले नयाँ खेलाडीहरू पनि उत्साहित र प्रेरित छन्।
उनी भन्छिन्, 'बहिनीहरू (खेलाडी) तपाईं हुनुहुन्छ र त हामी पनि खेल्न आँट गर्छौं। उनीहरूको मायाले अझै खेल्ने जाँगर छ।'