प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र कोशी प्रदेशले लगातार तीन खेलमा जित निकालेका छन्।
कोशीले आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मधेश प्रदेशलाई ६० रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको कोशीले ४ विकेटको क्षतिमा १२९ रन जोड्यो। उसका लागि कप्तान तथा ओपनर रुबिना क्षेत्रिले ५७ रन जोडिन्। उनले ६४ बलमा ९ चौका प्रहार गरेको थिइन्।
१३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभमा ९ विकेटको क्षतिमा ६९ रन जोड्न सक्यो। मधेशका लागि सना प्रवीनले सबैभन्दा बढी नटआउट २७ रन जोडिन्।
बलिङमा कोशीकी सबनम राई र अलिसा खडियाले २-२ विकेट लिए।
यता मुलपानी मैदानमा एपिएफले लुम्बिनी प्रदेशलाई ९० रनले हरायो।
पहिले ब्याटिङ गरेको एपिएफले ३ विकेटको क्षतिमा १५१ रन जोड्यो। उसका लागि ममता चौधरीले ५९ रन र इन्दू बर्माले ७० रनको योगदान गरे।
१५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेटको क्षतिमा ६१ रन मात्र जोड्न सक्यो। लुम्बिनीका लागि लक्ष्मी चौधरीले रनआउट हुनुअघि २८ रन जोडिन्।
बलिङमा एपिएफकी इन्दू बर्माले ३ विकेट र विन्दू रावलले २ विकेट लिए।