वीरगञ्जमा भइरहेको नेपाल प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ।
पुलिसले आज भएको खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ८९ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको पुलिसले ६ विकेटको क्षतिमा १४० रन जोड्यो।
पुलिसका लागि दिलीप नाथले ५६ रन र सुनील धमलाले ३५ रनको योगदान गरे। शंकर रानाले नटआउट २२ रनको योगदान गरे।
बलिङमा एपिएफका अभिनास बोहराले ३ विकेट लिए।
१४१ रनको लक्ष्य पछ्याएको एपिएफ १३.२ ओभरमा ५१ रनमै अलआउट भयो। एपिएफका लागि ओपनर तथा कप्तान प्रदीप ऐरीले २२ रन जोड्दा अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा पुलिसका शेर मल्लले उत्कृष्ट प्रदर्शन गरे। उनले २.२ ओभरमा ५ विकेट लिए भने मात्र ३ रन खर्चिए। ललित राजवंशीले पनि २ विकेट लिन सफल भए।