पर्साको वीरगञ्जमा भइरहेको नेपाल प्रो क्लब च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले अर्को हार बेहोरेको छ।
सोमबार भएको खेलमा एपिएफलाई भारतको वन्डर्स क्लब नोयडाले ८ विकेटले पराजित गर्यो।
नारायणी क्रिकेट मैदानमा वन्डर्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफले ५ विकेटको क्षतिमा १४४ रन जोड्यो।
एपिएफका लागि कोही पनि ब्याटरले ३० रन कटाउन सकेनन्। कप्तान प्रदीप ऐरी २४ रन, ओपनर हरिशंकर साह २३ रन र सन्दीप जोराले २० रन जोडे।
बलिङमा वन्डर्सका अलिप्त गुप्ताले २ विकेट लिए।
१४५ रनको लक्ष्य वन्डर्सले २ विकेटको क्षतिमा पूरा गर्यो।
उसका लागि रितिक भाट्सले विपिन खत्रीबाट बोल्ड हुनुअघि ४६ रन जोडे भने सिद्धार्थ गोस्वामीले नटआउट ४३ रन र हर्षित सेठीले नटआउट ४५ रन जोडे।
प्रतियोगिताको लिग चरणमा एपिएफले तीन मध्ये दुई खेलमा पराजय भोगिसकेको छ। वन्डर्सले भने पहिलो जित निकालेको हो।