प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० प्रतियोगिताको शीर्ष टिमको भिडन्तमा सशस्त्र प्रहरीको एपिएफ क्लबले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ।
यससँगै एपिएफले आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा चारै खेलमा जित निकालेको छ। यसअघि लगातार तीन खेलमा जित निकालेको कोशीको भने यो पहिलो हार हो।
मुलपानी मैदानमा कोशीले दिएको ८५ रनको लक्ष्य एपिएफले २ विकेटको क्षतिमा १७.३ ओभरमै पूरा गर्यो।
एपिएफका लागि इन्दू बर्माले नटआउट ३६ रन र रोमा थापाले नटआउट १० रन जोडिन्। त्यसअघि ज्योती पाण्डे २४ रन र कप्तान सीता रानामगर १८ रन बनाएर आउट भएका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको कोशीले २० ओभरमा २ विकेटको क्षतिमा ८४ रन मात्र जोड्न सक्यो।
कोशीका लागि कप्तान रूबिना क्षेत्रीले ५८ बलमा ४१ रन र काजल श्रेष्ठले नटआउट २५ रन बनाए। अप्सरी बेगम १३ रनमा आउट भइन्।
बलिङमा एपिएफकी सोनु खड्का र करुणा भण्डारीले १-१ विकेट लिए। सीता रानामगरले ४ ओभरमा ११ रन मात्र दिएकी थिइन् भने रेखा रावलले १ मेडन राख्दा १३ रन खर्चिइएकी थिइन्।