ग्रेट हिमालयन क्रिकेट एकेडेमी प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको काठमाडौं छनोटको फाइनलमा प्रवेश गरेको छ।
मुलपानी तल्लो मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा न्यु भिजन क्लबलाई ७ विकेटले पराजित गर्दै ग्रेट हिमालयनले फाइनलमा स्थान पक्क गरेको हो।
पहिले ब्याटिङ गरेको न्यु भिजनले ४४.५ ओभरमा अलआउट हुने क्रममा २५३ रन जोडेको थियो।
न्यु भिजनका लागि हरिबहादुर चौहानले १०६ रनको शतकीय इनिङ खेले। बलिङमा ग्रेट हिमालयनका सुविन हाडाले ३ विकेट लिए।
२५४ रनको लक्ष्य ग्रेट हिमालयनले ४०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
ग्रेट हिमालयनको जितमा इशान पाण्डेले शतक प्रहार गरे। उनले ११९ रन जोड्दै आफ्नो टिमलाई फाइनलमा पुर्याए।
छनोटको दोस्रो सेमिफाइनलमा महावीर क्लब र सिइसीबीच हुनेछ। १२ टिम भएको छनोटको फाइनल बुधबार हुनेछ।