प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको काठमाडौं छनोटका लागि महावीर क्लब र ग्रेट हिमालयन एकेडमीबीच प्रतिस्पर्धा हुने भएको छ।
आज मुलपानी तल्लो मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) लाई ६ विकेटले पराजित गर्दै महावरीले ग्रेट हिमालयनसँगको उपाधि भिडन्त पक्का गरेको हो।
सिइसीले दिएको १७० रनको लक्ष्य महावीरले ४ विकेटको क्षतिमा ३०.२ ओभरमा पूरा गर्यो। महावीरको जितमा रविन जोशीले नटआउट ७७ रन बनाए। उनले ६८ बलमा ७ चौका र १ छ्क्का प्रहार गरे।
त्यसअघि शरद भेषावकर ४ रनमा आउट हुँदा नवीन तामाङले ३७ रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको सिइसी ४४.२ ओभरमा १६९ रनमा अलआउट भयो।
सिइसीका लागि कुशल श्रेष्ठले ३७ रन जोडे। बलिङमा महावीरका राकेश कर्णले ४ विकेट लिए भने सार्थक धितालले ३ विकेट हात पारे।
महावीरका कप्तान समेत रहेका रविन जोशी प्लेयर अफ दि म्याच भए।
अब उपाधि भिडन्त बुधबार मुलपानी तल्लो मैदानमा हुनेछ।