प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष प्रतियोगिताअन्तर्गत काठमाडौं जिल्ला छनोटको उपाधि महावीर क्लबले जितेको छ।
बुधबार मुलपानी तल्लो मैदानमा भएको फाइनल खेलमा ग्रेट हिमालयन एकेडेमीलाई १३७ रनले पराजित गर्दै महावीर च्याम्पियन बनेको हो।
टस जितेको हिमालयनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको महावीरले ५० ओभरमा ८ विकेटको क्षतिमा २८४ रन जोडेको थियो।
महावरीका लागि विभत्सु थापाले ९० रनको योगदान गरे। बलिङमा हिमालयनका इशान पाण्डे र दर्शिल विष्टले २-२ विकेट लिए।
२८५ रनको लक्ष्य पछ्याएको हिमालयन ३२ ओभरमा १४७ रनमा अलआउट भयो। उसका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ५४ रन जोडे।
बलिङमा काठमाडौंका हिमाल चन्द, सार्थक धिताल र योगेश पाठकले २-२ विकेट लिए।
महावीरका विभत्सु थापा प्लेयर अफ दि फाइनल, सिइसीका मनोज यादव वेस्ट बलर, न्यु भिजनका हरि चौहान वेस्ट ब्याट्सम्यान र हिमालयनका इशान पाण्डे म्यान अफ दि सिरिज भए।
काठमाडौं जिल्ला छनोटमा विभिन्न १२ टिमले भाग लिएका थिए। जसमा चार समूहका शीर्ष टिम सेमिफाइनल पुगेका थिए।