प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेश प्लेअफमा पुगेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमलाई ८ विकेटले पराजित गर्दै कोशीले प्लेअफमा स्थान पक्का गरेको हो।
कोशीले लिगको अन्तिम खेलअघि १० अंक जोडेको छ। यसअघि एपिएफले पनि प्लेअफमा स्थान पक्का गरिसकेको छ।
बिहीबार सुदूरपश्चिमले दिएको ११९ रनको लक्ष्य कोशीले २ विकेटको क्षतिमा १७.४ ओभरमै पूरा गर्यो। कोशीका लागि ओपनरद्वय काजल श्रेष्ठ र रुबिना क्षेत्रीले अर्धशतक प्रहार गरे। कप्तान रुबिनाले नटआउट५१ रन र काजलले ५४ रन जोडे।
त्यसअघि टस जितेको कोशीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरले २० ओभरमा ३ विकेटको क्षतिमा ११८ रन जोड्यो।
उसका लागि ओपनर विन्दू रावलले ३३ रन, सम्झना खड्काले २७ रन, कविता जोशीले नटआउट २६ रन र रेवती धामीले नटआउट २० रन जोडे। अन्तिम खेलअघि ८ अंक जोडेको सुदूरको पनि प्लेअफ सम्भावना छ।