नेपाल प्रो क्लब च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब समूह चरणबाटै बाहिरिएको छ। वीरगञ्जको नारायणी रंगशालामा बिहीबार पार्सा क्लब ११ लाई ८ रनले पराजित गरे पनि एपिएफ समूहमा पाँचौ स्थानमा सीमित बनेको हो।
हार पछि पनि पर्सा भने अन्तिम चारमा पुग्न सफल भयो। समूह चरणमा चौथो भएको पार्साले ४ अंक जोड्दा एपिएफको पनि ४ अंक नै छ। तर नेट रनरेटमा पर्सा अघि रहन सफल भयो। बिहीबार राम्रो अन्तरको जित निकालेको भए पर्सालाई पछि पारेर एपिएफ अन्तिम चारमा पुग्ने अवस्था थियो।
बिहीबार पहिले ब्याटिङ गरेको एपिएफले ९ विकेटको क्षतिमा १२८ रन जोड्यो। उसका लागि कप्तान प्रदीप ऐरीले ५२ रन जोडे। उनले ४२ बलमा ५ चौका र २ छक्का हिर्काए।
बलिङमा पर्साका रन्जित कुमार र कप्तान सन्दीप लामिछानेले २-२ विकेट लिए।
१२९ रनको लक्ष्य पछ्याएको पर्साले ८ विकेटको क्षतिमा १२० रन मात्र जोड्यो। उसका लागि रुपेश सिंहले नटआउट ४६ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा एपिएफका अभिनास बोहरा, रमेश कुर्मी र मौसम ढकालले २-२ विकेट लिए।
अब सेमिफाइनलमा भोलि त्रिभुवन आर्मी र पर्सा तथा नेपाल पुलिस र वन्डर्स क्लब नोएडाबीच खेल हुनेछ।