प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्लेअफमा स्थान पक्का गरेको छ।
बिहीबार कर्णाली प्रदेशमाथि १० विकेटको जित निकालेसँगै बागमतीले शीर्ष चारमा पर्ने पक्का गरेको हो। यससँगै शीर्ष चारमा पर्ने चारै टिमको टुंगो लागेको छ। यसअघि एपिएफ र कोशीले प्लेअफमा स्थान पक्का गर्दा सुदुरपश्चिम प्रदेश पनि प्लेअफमा पुग्यो।
बिहीबार बामगतीले कर्णाली प्रदेशले दिएको ४३ रनको झिनो लक्ष्य विना विकेटको क्षतिमा ४.५ ओभरमै पूरा गर्यो।
बागमतीका यशु पाण्डेले नटआउट २५ रन र हेलिसा गुरुङले नटआउट १३ रन जोडे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १३.४ ओभरमा ४२ रनमै अलआउट भयो।
उसका विना थापाले १२ रन र शुरती बुढाले १६ रन बनाए। अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा बागमतीकी खुसी डंगोलले ४ विकेट लिइन्। सस्कृति फुयालले २ विकेट लिए।