नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधिका लागि नेपाल पुलिस क्लब र पर्सा क्लब ११ बीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार वीरगञ्जको नारायणी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा भारतको वन्डर्स क्लब नोएडालाई ४ रनले पराजित पुलिसले पर्सासँगको भेट पक्का गरेको हो।
पुलिसले दिएको ११३ रनको लक्ष्य पछ्याएको नोएडाले २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रन मात्र जोड्न सक्यो।
नोएडाका लागि वंस बेदीले ४३ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा पुलिसका सागर ढकालले ३ विकेट लिए भने रासिद खानले २ विकेट लिन सफल भए।
टस जितेको वन्डर्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पुलिसले ७ विकेटको क्षतिमा ११२ रन जोड्यो।
पुलिसका लागि अर्जुन साउदले ४२ रन र सुनिल धमलाले ३४ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा नोएडाका अलिप्त गुप्ताले २ विकेट लिए।