प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता साविक विजेता सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले हराउँदै क्वालिफायरमा पुगेको छ।
फाइनलमा पुग्न सुदूरपश्चिम प्रदेशले पहिलो क्वालिफायरमा पराजित भएको कोशी प्रदेशसँग सोमबार खेल्नेछ।
जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले १४ दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। सुदूरपश्चिमको जितमा विन्दु रावल सर्वाधिक ५४ रनको योगदान गरिन । उनी ४९ बलमा ७ चौकासहित ५४ रनमा अविजित रहिन्।
त्यस्तै सम्झना खड्का १६ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन। रुवि पोदार २२ बलमा २ चौकासहित १८ रनमा आउट भइन्। बागमतीको लागि मनिषा उपाध्यायले १ विकेट लिइन्। त्यसअघि कृतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती १९ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटिएको थियो।
बागमतीको लागि कञ्चन श्रेष्ठले ४६ बलमा ५ चौकासहित सर्वाधिक ३६ रनको योगदान दिइन्। त्यसैगरी हेलिसा गुरुङले १०, यशु पाण्डेले ७, सोनी पाख्रिनले १४, खुसी डङ्गोलले १० र मनिषा उपाध्यायले ८ रन बनाइन्।
सुदूरपश्चिमकि करिष्मा थापाले ३ विकेट लिइन् भने लक्ष्मी साउद र ऋतु कनौजियाले समान दुई दुई विकेट लिए। सोमबार नै पहिलो क्वालिफायर खेलमा एपिएफले कोशी प्रदेशलाई ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ।