अफगानिस्तानसँगको तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा घरेलु टिम युएई ११ रनले विजयी भएको छ। यससँगै अन्तिम खेलअघि सिरिजमा १-१ को बराबरी भएको छ।
शारजाहमा युएईले दिएको १६७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम बल खेल्नुअघि १५५ रनमै अलआउट भयो।
अफगानिस्तानका लागि मोहमद नाबीले सर्वाधिक ४७ रन जोडे।
बलिङमा युएईका मोहमद जवादुल्लाहले ४ विकेट लिन सफल भए। उनले २६ रन खर्चिए। यस्तै अली नासीरले पनि ४ विकेट लिए। उनले पनि कसिलो बलिङ गर्ने क्रममा १ मेडन राख्दा २४ रन मात्र दिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १६६ रन जोड्यो।
उसका लागि ओपनरद्वय मोहमद वासीम र आर्यान लाक्राले अर्धशतक प्रहार गरे।
कप्तान वासीमले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५३ रन बनाए। लाक्राले नटआउट ६३ रन जोड्ने क्रममा ४७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
बलिङमा अफगानिस्तानका अजमतुल्लाह अमर्जाइ र क्वाइस अहमदले २-२ विकेट लिए।