प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधिका लागि कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशीले बुधबार हुने फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो।
यससँगै एपिएफ र कोशीबीच यो प्रतियोगितामा तेस्रो भेट हुने भएको छ। यसअघि समूह चरण र पहिलो क्वालिफायरमा एपिएफले कोशीलाई पराजित गरेको थियो।
सोमबार कोशीले प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा ८८ रन जोडेको थियो। सुदुरपश्चिमका लागि सम्झना खड्काले २५ रन, विन्दू रावलले १७ रन र कविता जोशीले १५ रन बनाए।
बलिङमा कोशीकी संगिता राईले २ विकेट लिइन्। सबनम राई, निशा शाह र अलिसा खडियाले १-१ विकेट लिए।
८९ रनको लक्ष्य कोशीले १ विकेटको क्षतिमा १३ ओभरमा पूरा गर्यो। कोशीकी काजल श्रेष्ठले नटआउट ३८ रन र अप्सरी बेगमले नटआउट १२ रन बनाए।
त्यसअघि कप्तान रुबिना क्षेत्री ३७ रन जोडिन्। उनले २३ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्।