प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी अप्सरी बेगमले ह्याट्रिक गरेकी छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतियोगिताको उपाधि भिडन्तमा बेगमले एपिएफविरूद्ध अन्तिम ओभरको पहिलो तीन बलमा लगातार विकेट लिएर ह्याट्रिक गरेकी हुन्।
उनले २०औं ओभरको पहिलो बलमा एपिएफका लागि अर्धशतक बनाएर खेलिरहेकी इन्दू बर्मालाई नमिता श्रेष्ठबाट क्याच गराइन्। दोस्रो बलमा नेरी थापालाई विकेटकिपर काजल श्रेष्ठबाट स्टमपिन गराउदा तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गरिन्।
यो प्रधानमन्त्री कप २०८० को पहिलो ह्याट्रिक हो।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ७ विकेटको क्षतिमा ११४ रन जोड्न सफल भयो।
एपिएफका लागि इन्दू बर्माले ५३ रनको अर्धशतकीय पारी खेलिन्। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरिन्। ओपनर ज्योती पाण्डेले २७ रन र रोमा थापाले १४ रन बनाए।
एपिएफका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा कोशीकी बेगमले ह्याट्रिक गर्दै ३ विकेट लिँदा एलिसा खडियाले २ विकेट लिइन्।