नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। क्यानले आज कीर्तिपुरस्थित त्रिवि मैदानमा क्यालेन्डर सार्वजनिक गरेको छ।
जसमा सन् २०२४ मा अन्तर्राष्ट्रियतर्फ नेपालको पुरुष सिनियर टिम, ए टिम, महिला टिम तथा उमेर समूहका टिमका लागि ३४ वटा कार्यक्रम रहेका छन्।
जनावरीमा दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपअघिको क्याम्पदेखि डिसेम्बरमा हुने टी-२० इमर्जिङ टिम्स एसिया कपसम्मका कार्यक्रमलाई क्यानले समेटेको छ।
क्यानले नेपालको सिनियर टिमले खेल्ने टी-२० विश्वकपदेखि आइसिसी विश्वकप लिग-२ का तीन सिरिजलाई सन् २०२४ को आफ्नो क्यालेन्डरमा समेटेको छ।
लिग-२ मा नेपालले फेब्रुअरीमा नेदरल्यान्ड्स र नामिबियासँग, सेप्टेम्बरमा क्यानडा र ओमानसँग र अक्टोबरमा अमेरिका र स्टकल्यान्डसँग खेल्ने कार्यक्रम छ। तीन वटै लिग-२ का दौरान यी राष्ट्रसँग टी-२० सिरिज खेल्ने नेपालको तालिका छ।
यस्तै नपालेले हङकङ र आयरल्यान्ड ए सँग टी-२० सिरिज खेल्ने क्यालेन्डरमा समावेश छ। लगत्तै प्रिमियर कप खेलेपछि नेपालले टी-२० विश्वकपका लागि अमेरिकामा अभ्यासका लागि जाने छ।
महिला टिमले एसिसी प्रिमियर कपसहित ९ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने कार्यक्रम छ। यस्तै ए टिम निर्माण गरेर क्याडनासँग एकदिवसीय सिरिज खेल्ने नेपालको तयारी छ।
यस्तै नेपालको ए टिम घोषणा गर्दै बंगलादेश, श्रीलंका, अफगानिस्तानसँग मार्च/अप्रिलमा सिरिज खेलाउने क्यानले प्रस्ताव पठाइसकेको छ। ए टिममा राष्ट्रिय टिममा पर्न संघर्ष गरिरहेका सिनियर खेलाडी र युवा टिमका खेलाडी समेटिनेछन्।
यसैगरी नोभेम्बर-डिसेम्बरमा नेपाल प्रिमियर लिग हुने क्यालेन्डरमा उल्लेख छ। गत संस्करणको लिग विवादमा परेको थियो। यसपटक भने क्यान आफैले प्रिमियर लिग गर्ने क्यानका सचिव पारस खड्काले बताए। त्यसका लागि विभिन्न व्यापारिक घरना र सरोकारवालासँग कुराकानी भइरहेको उनले बताए।
यस्तै घरेलु प्रतियोगितातर्फ क्यानका २८ वटा कार्यक्रम छन्। जसमा प्रधानमन्त्री कप, मनमोहन यू-१६, मेन्स इलाइट ट्रफी, सुशील कोइराला च्याम्पियनसिप ट्रफी, राष्ट्रिय स्कुल च्याम्पियनसिप, यू-१६ राष्ट्रिय प्रतियोगिता, मेयर्स कप, राष्ट्रिय टी-२० च्याम्पियनसिप, वीर गणेशमान राष्ट्रिय क्लब च्याम्पियनसिप, क्यान प्रिमियर कप, दशौं राष्ट्रिय खेलकुद, राष्ट्रिय यू-१९ च्याम्पियनसिप, महेन्द्रनारायण निधि प्रतियोगिता, एमएम कप, विभागीय डर्बी, सप्तरी प्रिमियर लिग, कोशी प्रिमियर लिग, अर्जुन ट्रफी राष्ट्रिय टी-२० प्रतियोगिता लगायतका घरेलु प्रतिस्पर्धा २०२४ मा आयोजना हुने कार्यक्रम छन्।
कतिपय प्रतियोगिता विभिन्न संस्थाले आयोजना गर्ने भए पनि क्यानले मान्यता दिँदै त्यसलाई क्यालेन्डरमा स्थान दिएको हो। ती प्रतियोगिताको खर्च संस्थाहरुले बेहोर्ने सचिव खड्काले बताए।
सचिव खड्काले क्यानको क्यालेन्डर लागू गर्न बजेट र पूर्वाधार चुनौती भएको बताए। बजेटका लागि क्यानले आर्थिक स्रोत जुटाउने काम गर्ने र पूर्वाधार विकासका लागि सरकारलाई अनुरोध गरिने उनले बताए।