प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बागमती छनोटको उपाधिका लागि चितवन र ललितपुर भिड्ने भएका छन्।
सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा काठमाडौंलाई २ विकेटले पराजित गर्दै चितवनले ललितपुरसँगको उपाधि भिडन्त पक्का गरेको हो।
काठमाडौंले दिएको १८९ रनको लक्ष्य चितवनले २ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्यो।
चितवनको जितमा सूर्यांशु कोइरालाले ५६ रन र प्रतिक श्रेष्ठले ३० रन जोडे। बलिङमा काठमाडौंका कप्तान शरद भेषवाकरले ४ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौं ४८.३ ओभरमा १८८ रनमा अलआउट भयो। उसका लागि नवीन तामाङले ३२ रन र शरदले २९ रन जोडे।
बलिङमा चितवनका दिनेश एकबालले ३ विकेट लिए भने गौतम केसी र संघर्ष पौडेलले २-२ विकेट हात पारे।