नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसीसी) ले विराटनगरको होराइजन क्रिकेट क्लबलाई १ लाख ८० हजार रूपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गरेको छ।
नेप्लीज क्यानेडियन क्रिकेट क्लबका संस्थापक अध्यक्ष इमरान अस्गरको पहलमा होइराइजनलाई खेल सामग्री प्रदान गरिएको हो।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष अस्गरले होराइजनका अध्यक्ष सुनिलकुमार पौडेललाई सामग्री हस्तान्तरण गरे।
महानगर प्रमुख कोइरालाले राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर–१९ वैजनाथपुरमा सुविधासम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताए।
'नेपाली क्रिकेटले अहिले प्रगती गरेको देख्दा खुशी लाग्छ। तर नेपाली क्रिकेटलाई अझै प्रगतिको बाटोमा दीर्घकालीन सोचले अगाडि बढ्ने हो भने हामीले जिल्ला र प्रदेशका क्लबहरु पनि राम्रो हुँदै जान पर्छ। हामी नेप्लीज क्यानडियन क्रिकेट क्लबले सहयोग गर्न पाउदा खुसी लागेको छ,' इमरान अस्गरले भने।
कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, वडा सदस्य आदित्य तुलाधर, वडा नं १७ का अध्यक्ष समिम कमर, नेपाल क्रिकेट संघ कोशी प्रदेश अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ अध्यक्ष मो साद बाबुलगायतको सहभागिता थियो ।
प्रतिष्ठित मिसिसाउगा क्रिकेट लिगमा सहभागी नेप्लीज क्यानेडियन क्रिकेट क्लब क्यानेडियन लिगमा प्रतिस्पर्धा गर्ने सम्भवतः पहिलो नेपाली मूलको खेलकुद टोली हो।
२०२२ मा एनसीसीले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई क्यानडाको राष्ट्रिय टोलीविरुद्ध ऐतिहासिक द्विपक्षीय शृङ्खलाको लागि क्यानडा ल्याउनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।