आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अनौपचारिक वाम अप खेलमा नामिबियालाई ६ रनले पराजित गरेको छ।
वर्षाका कारण खेल ३० ओभरमा घटनाइएको थियो। जहाँ पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १४१ रन जोड्यो।
नेपालका लागि दीपक डुम्रेले ३२ रन र आकाश त्रिपाठीले २१ रन बनाए।
१४२ रनको लक्ष्य पछ्याएको नामिबिया १ बल खेल्न बाँकी छदा १३५ रनमा अलआउट भयो। उसका लागि भोलसेकले ५० रन बनाए। बलिङमा नेपालका गुल्सन झा र आकाश चन्दले ३-३ विकेट लिए।
यसअघि सोमबार राति भएको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनले पराजित गरेको थियो।
अब नेपालले सुरुमा औपचारिक वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ।
यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।
नेपालले शनिबार स्कटल्याण्ड र मंगलबार वेस्ट इन्डिजसँग औपचारिक वाम अप खेल खेल्नेछ।
नेपालले विश्वकपमा पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २६ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ।
नेपालले सन् २०१६ पछि यू-१९ विश्वकप खेल्न लागेको हो। ८ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा नेपालले छनोटमा युएईलाई स्तब्ध पारेको थियो।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द