प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश विजयी भएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ८ विकेटको क्षतिमा २८२ रन जोड्यो। पुलिसका लागि रासिद खानले नटआउट १०६ रन जोडे।
५ विकेट जादा ७२ रन जोडेको अवस्थामा मैदान छिरेका खानले ११२ बलमा ९ चौका र ६ छक्का प्रहार गरेपछि पुलिस राम्रो अवस्थामा पुगेको थियो।
पुलिसका लागि आरिफ शेखले ५७ रन जोडे।
बलिङमा बागमतीका रिजन ढकाल र सूर्य तामाङले ३-३ विकेट लिए।
२८३ रनको लक्ष्य पछ्याएको बागमती ४२.३ ओभरमा २१४ रनमा अलआउट भयो।
बागमतीका लागि ओपनरद्वय आषुतोश घिराइला ९२ रन र इशान पाण्डेले ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा पुलिसका सागर ढकालले ३ विकेट लिए भने करण केसी, रासिद खान र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए।
यता भैरहवामा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।