आइसिसी यू-१९ विश्वकप आगामी शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरू हुँदैछ। १६ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपाल समूह 'डी' मा छ।
सन् २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्न लागेको नेपालले समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
आइसिसीले आइतबार सहभागी १६ वटै टिमका 'प्लेयर्स टु वाच' को नाम सार्वजनिक गरेको छ। जसमा नेपाली टिमबाट कप्तान देव खनाल, अलराउन्डरद्वय गुल्सन झा र दुर्गेश गुप्ता तथा ब्याटर अर्जुन कुमाललाई समावेश गरेको छ।
आइसिसीले देव खनाल र गुल्सन झासँग सिनियर टिमसँगको अनुभव रहेको उल्लेख गर्दै टिममा रहेका अरु खेलाडीलाई खनाल र झाबाट प्रेरणा मिल्ने लेखेको छ।
साथै अर्जुन कुमालले वाम अफ खेल र यू-१९ एसिया कपमा उत्कृष्ट खेलेको उल्लेख गर्दै विश्वकपमा हेर्न लायक खेलाडीमा समावेश गरेको छ। यस्तै दुर्गेश गुप्ता जुनियर घरेलु प्रतियोगितामा उत्कृष्ट खेल देखाएकोले उनलाई नेपालको हेर्नलायक सूचीमा आइसिसीले समावेश गरेको छ।
एक साताअघि नै दक्षिण अफ्रिका पुगेको नेपालले दुई वटा अनौपचारिक र एक औपचारिक अभ्यास खेल खेलिसकेको छ। तीनै खेलमा नेपाल विजयी भएको छ।
नेपालले अनौपचारिक खेलमा नामिबिया र स्कटल्यान्डलाई पराजित गरेको थियो। शनिबार भएको औपचारिक खेलमा नेपालले डिएलएस मेथडमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो।
अब नेपालले मंगलबार वेस्ट इन्डिजसँग अन्तिम अभ्यास खेल खेल्नेछ।
त्यसपछि नेपालले विश्वकपमा माघ ७ गते न्युजिल्यान्ड, माघ १० गते पाकिस्तान र माघ १२ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द