प्रधानमन्त्री कपमा नेपाल एपिएफ क्लबका ब्याटर सन्दीप जोराले शतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सन्दीपले बागमती प्रदेशविरूद्ध शतक प्रहार गरेका हुन्।
टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका लागि सन्दीपले टिम खराब स्थितिमा रहेको बेलामा शतक प्रहार गरेका हुन्।
अन्तिम ओभरमा रनआउटको सिकार हुनुअघि उनले ११२ रन जोडे। उनले ११७ बल खेल्दा ७ चौका र ५ छक्का प्रहार गरे।
उनको शतकमा एपिएफले ९ विकेटको क्षतिमा २४१ रन जोड्यो।
१२.४ ओभरमा ५ विकेट गुमाउँदा एपिएफले ४१ रन मात्र जोडेको थियो। त्यसपछि सन्दीपले एपिएफलाई धैर्यताका साथ अघि बढाएका थिए।
प्रधानमन्त्री कपमा यो दोस्रो शतक हो। यसअघि नेपाल पुलिस क्लबका रासिद खानले बागमतीविरुद्ध नै शनिबार शतक प्रहार गरेका थिए।
आइतबार बागमतीविरूद्ध एपिएफका ओपनरद्वय प्रज्जल शाही १० रन र आसिफ शेख १५ रनमा आउट भए। यो सिजनदेखि एपिएफमा आबद्ध भएका कप्तान रोहित पौडेल २ रनमा रिजन ढकालको एलबिडब्लूको धरापमा परे।
सुमित महर्जन ६ रन र पुरन विक शून्यमा आउट भए। यस्तै लोकेश बमले २७ रन, भूवन कार्कीले १० रन र अमरसिंह रटेउलाले २२ रन बनाए। अभिनास बोहराले नटआउट १८ रन जोडे।
बलिङमा बागमतीका सूर्य तामाङले ३ विकेट लिए। उनले १० ओभरमा ३२ रन खर्चिए। प्रतिश जिसी र रिजन ढकालले २-२ विकेट लिए भने सोनु देवकोटाले १ विकेट हात पारे।