प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार चौथो खेलमा जित निकालेको छ।
सोमबार मुलपानी मैदानमा कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको बागमती अंक तालिकाको शीर्ष स्थानमा समेत पुग्यो।
कर्णालीले दिएको ७९ रनको लक्ष्य बामगतीले ३ विकेटको क्षतिमा १३ ओभरमा पूरा गर्यो।
बामगतीका लागि इशान पाण्डेले ४० रन जोड्दा रविन जोशीले नटआउट १६ रन र अशोक पौडेलले नटआउट ६ रन बनाए। त्यसअघि ओपनर आशुतोष घिरोइया ९ रन र कप्तान रित गौतम ८ रनमा आउट भएका थिए।
बलिङमा कर्णालीका दिवान पुनले ३ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली २४.२ ओभरमा ७८ रनमै अलआउट भयो।
कर्णालीका लागि निश्चल रावलले १३ रन र अर्जुन घर्तीले २३ रन जोडे। अरु ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कर्णालीलाई सस्तैमा अलआउट गर्ने क्रममा बागमतीका रिजन ढकालले ५ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दा २५ रन मात्र दिए। कृजन गुरुङले २ विकेट लिँदा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आर्चायले १-१ विकेट लिए।
जितसँगै बागमतीले ६ खेलबाट ८ अंक जोडेको छ। शीर्ष स्थानमा रहेको बामगतीले सुरुवाती खेलमा भने पराजय भोगेको थियो। कर्णाली भने ५ मध्ये ३ खेलमा पराजित भएको छ।