प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
सोमबार भैरहवामा भएको खेलमा पुलिसले अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ५८ रनले पराजित गर्यो।
पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याएको एपिएफ ३४ ओभरमा ८७ रनमै अलआउट भयो। एपिएफका लागि सन्दीप जोराले सर्वाधिक नटआउट २५ रन बनाए। ओपनर प्रज्वल शाहीले १३ रन र अमरसिंह रटेउलाले २३ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा पुलिसका ललितनारायण राजवंशीले ५ विकेट लिए। उनले ८ ओभरमा ४ मेडन राखे भने ८ रन मात्र दिए। रशिद खानले २ विकेट लिँदा सागर ढकालले १ विकेट हात पारे।
त्यसअघि टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पुलिस ४१ ओभरमा १४५ रनमा अलआउट भयो।
पुलिसका ओपनर दिलीप नाथले ४४ रन बनाउँदा अर्का ओपनर सुनील धमला शून्यमा आउट भए। अर्जुन साउदले ३१ रन, शंकर रानाले २२ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकमा रन जोडेनन्।
बलिङमा एपिएफका भुवन कार्कीले ३ विकेट लिँदा अमरसिंह रटेउला र रमेश कुर्मीले २-२ विकेट लिए।
अंक तालिकमा पुलिस ८ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको बागमतीको पनि ८ अंक नै छ। एपिएफ भने ४ अंकसहित छैटौं स्थानमा छ।