प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा करण पंगेनीको अर्धशतकमा गण्डकीले बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको छ।
जारी प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो। यता बामगती भने लगातार चार जितपछि पराजित भयो। अंक तालिकाको दोस्रो स्थानमा रहेको बागमतीले ७ खेलबाट ८ अंक जोडेको छ। गण्डकी भने चार अंकसहित आठौ स्थानमा छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा बागमतीले दिएको १९९ रनको लक्ष्य गण्डकीले ३ बल खेल्न बाँकी छदा ७ विकेट गुमाएर पार गर्यो।
गण्डकीका लागि करण पंगेनीले ७९ रनको योगदान गरे। ४९औं ओभरमा आउट हुनुअघि उनले ९८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
त्यसअघि इश्वर क्षेत्रीले ३६ रन र मुस्कान थापाले २७ रन बनाए।
बलिङमा बागमतीका प्रतिश जिसीले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती ५ बल खेल्न बाँकी छदा १९८ रनमा अलआउट भयो।
बागमतीका लागि ओपनरद्वय आशुतोष घिरइयाले ४४ रन र इशान पाण्डेले ४३ रन जोडे। यस्तै अशोक पौडेलले ३० रन र विपिन आर्चायले ३८ रन बनाए।
बलिङमा गण्डकीका कमल परियारले ४ विकेट लिए भने विपिन खत्री र अमृत गुरुङले २-२ विकेट लिए।