नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ।
पुलिसले लगातार पाँचौं खेलमा जित निकाल्ने क्रममा बुधबार मधेस प्रदेशमाथि ६ विकेटको जित निकाल्यो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको पुलिसले बुधबार मुलपानी मैदानमा टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मधेस २४ ओभरमा ९६ रनमै अलआउट भयो।
उसका लागि अरनिको यादवले २३ रन जोड्दा ओपनर तथा कप्तान हरिशंकर साहले २२ रन बनाए। अरु ९ ब्याटर दोहोरो अंकमा रन जोड्न असफल भए। बलिङमा पुलिसका सागर ढकालले ५ विकेट लिए भने ललित राजवंशीले ४ विकेट हात पारे।
९७ रनको लक्ष्य पुलिसले पार गर्न ४ विकेट गुमायो भने १८.३ ओभर खेल्यो।
उसका लागि ओपनरद्वय सुनील धमलाले २८ रन र कुशल भुर्तेलले १९ रन जोडे। अर्जुन साउद ७ र दिलीप नाथ ४ रनमै आउट भए। अमृत श्रेष्ठले नटआउट १५ रन र आरिफ शेखले नटआउट १६ रनको योगदान गरे।
बलिङमा मधेसका रंजित कुमार र अरनिको यादवले २-२ विकेट लिए।
अंक तालिकामा पुलिस १० अंक जोडेर शीर्ष स्थानमा रहदा मधेस ८ अंकसहित तेस्रो स्थानमा छ।