आकास चन्द आइसिसी यू-१९ विश्वकपको एकै खेलमा पाँच विकेट लिने चौथो नेपाली बलर बनेका छन्। तीव्र गतिका बलर आकासले शुक्रबार अफगानिस्तानविरुद्ध ५ विकेट लिएका हुन्। उनले ८ ओभरमा ३४ रन खर्चिए।
यसअघि नेपालका लागि राहुल विश्वकर्माले सन् २०१२ मा पपुवा न्युगिनीविरुद्ध ६ विकेट लिँदा ३ रन मात्र खर्चिएका थिए। यो नेपालका लागि यू-१९ विश्वकपमा उत्कृष्ट बलिङ हो।
भुवन कार्कीले नामिबियाविरुद्ध २०१२ मा ५ विकेट लिँदा २१ रन दिएका थिए। यस्तै सन् २०१६ मा सन्दीप लामिछानेले आयरल्यान्डविरुद्ध ५ विकेट लिँदा २७ रन खर्चिएका थिए।
आकासको उत्कृष्ट बलिङसँगै समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १४५ रनमा अलआउट गर्यो।
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा अलआउट भएपछि नेपालले १४६ रनको लक्ष्य पायो।
खेलपछि आकासले दक्षिण अफ्रिकाको कन्डिसनको फाइदा उठाउन सफल भएको प्रतिक्रिया दिएका छन्।
'यहाँको कन्डिसनको फाइदा उठाउँदै नयाँ बललाई राम्रो एरियामा फालेर स्विङ गराउँदै विकेट लिने योजना थियो,' उनले भने। थप ओभर बलिङ गर्ने इच्छा भए पनि शरीरले साथ नदिँदा नगरेको उनले बताए। 'सात ओभर बलिङ गरेपछि मेरो शरीरले पनि साथ दिइरहेको थिएन। स्पिनरले विकेट लिइरहेको अवस्थामा उनीहरुलाई ट्राइ गरेको हो,' उनले भने।
नेपालले पहिलो दुई ओभरमा दुई विकेट लिँदै उत्कृष्ट सुरुवात गरेको थियो।
नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा पहिलो विकेट लिए। उनले अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई शून्यमा दीपक डुम्रेबाट क्याच गराए।
दोस्रो ओभरमा आकासले खलिद तनिवाललाई पनि शून्यमा विकेटकिपर विपिन रावलबाट क्याच गराए।
आकासले अफगानिस्तानका ओपनर जाम्शिद जार्द्रानलाई ३ रन बनाएर खेलिरहदा ५.५ ओभरमा बोल्ड गरे। दुई ओभरपछि आकासले नेपालका लागि चौथो र व्यक्तिगत तेस्रो विकेट लिन सफल भए। आठौं ओभरको अन्तिम बलमा उनले सोहिल खानलाई ४ रनमा कप्तान देव खनालबाट क्याच गराए।
आकासले दशौं ओभरको पहिलो बलमा नेपाललाई पाँचौ सफलता दिलाए। उनले व्यक्तिगत चौथो विकेट लिने क्रममा अलि अहमदलाई शून्यमा एलबिडब्लूको धरापमा पारे।
आकासले २० रन बनाएर खेलिरहेका हसन इशाखिललाई दिपेश कँडेलबाट क्याच गराएपछि उनले एकै खेलमा पाँच विकेट लिन सफल भए।
नेपालका लागि सातौं विकेट तिलकराज भण्डारीले लिए। उनले १८औं ओभरको तेस्रो बलमा एम घजानफरलाई ३७ रनमा आउट गरे। आउटहुनुअघि उनले तिलकलाई लगातार छक्का र चौका प्रहार गरेका थिए। उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दा अफगानिस्तानको स्कोरले केहि गति लिएको थियो।
यस्तै नसीर शाखले ३१ रन जोडे। नवौं विकेटका लागि उनले फारुदुनसँग ५५ रनको साझेदारी गरेका थिए। यो साझेदारी दिपेक कँडेलले तोडेका थिए।
फारुदुनले अन्तिम विकेटको रुपमा सुवास भण्डारीबाट आउट हुने क्रममा २९ रन जोडे।
बलिङमा नेपालका आकासले ५ विकेट लिँदा दिपेशले २ विकेट लिए। यस्तै सुवास भण्डारी, तिलक भण्डारी र गुल्सन झाले १-१ विकेट लिए।
सुपर-६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ। यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए।
आइसिसीले समूहका शीर्ष तीन टिमलाई सुपर-६ खेलाउँदैछ। कुल १२ टिमले दुई समूहमा सुपर-६ खेल्नेछन्। दुवै समूहका शीर्ष २-२ टिमले सेमिफाइनल खेल्नेछन्।