आइसिसी यू-१९ विश्वकप २०२४ मा नेपालले समूहको अन्तिम खेलमा अफगानिस्तानविरूद्ध १ विकेटको रोमाञ्चक जित निकाल्न सफल भयो।
अफगानिस्तानविरूद्धको जितसँगै नेपाल प्रतियोगिताको सुपर-६ मा पुग्यो। अब सुपर-६ मा नेपालले समूह-१ मा प्रतिस्पर्धा गर्नेछ।
आइसिसीले यसपटकदेखि यू-१९ विश्वकपमा सुपर-६ को नियम ल्याएको हो। जसअनुसार चार समूहका शीर्ष तीन टिमले सुपर-६ मा स्थान बनाउनेछन्। नाम सुपर-६ भए पनि १२ टिमले दुई समूहमा प्रतिस्पर्धा गर्नेछन्।
सुपर-६ को समूह-१ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, नेपाल र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछन। पाकिस्तान, न्युजिल्यान्ड र नेपाल समूह 'डी' बाट तथा भारत, बंगलादेश र आयरल्यान्ड समूह 'ए' बाट सुपर-६ मा पुगेका हुन्।
सुपर-६ को समूह-२ मा समूह 'बी' र 'सी' का शीर्ष तीन तीन टिमहरु अस्ट्रेलिया, श्रीलंका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे पुगेका छन्।
अब सुपर-६ मा प्रत्येक टिमले दुई दुई मात्र खेल खेल्नेछन्। समूह चरणमा प्रतिस्पर्धा गरेका टिमसँग सुपर-६ मा प्रतिस्पर्धा हुनेछैन। जसअनुसार अब नेपालले सुपर-६ को समूह-१ मा रहेका पाकिस्तान र न्युजिल्यान्डसँग खेल्नेछैन। यस्तै अर्को समूहबाट आएका दुई टिमसँग मात्र खेल्न पाउने प्रावधानअनुसार नेपालले सुपर-६ मा भारत र बंगलादेशसँग खेल्ने लागेको हो। अरु टिमले पनि दुई दुई खेल मात्र खेल्नेछन्।
आफूले पराजित गरेको टिम सुपर-६ मा पुगेको अवस्थामा स्वत: अंक जोडिनेछ। त्यसैले पाकिस्तानको सुपर-६ मा ४ अंक भइसकेको छ। किनभने समूहमा उसले हराएका न्युजिल्यान्ड र नेपाल सुपर-६ मा पुगेका छन्। नेपालको भने सुपर-६ मा अंक छैन। किनभने नेपालले समूहमा प्रतिस्पर्धा गरेका पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेको थियो।
सुपर-६ मा सबै टिमले दुई दुई खेल खेलेपछि शीर्ष दुईमा पर्ने टिमहरु सेमिफाइनलमा पुग्नेछन्।
सुपर-६ मा नेपालले पहिलो खेलमा बंगलादेशसँग बुधबार र दोस्रो खेलमा भारतसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। सुपर-६ बाट नेपालको सेमिफाइनल पुग्ने सम्भवना निकै कठिन छ। किनभने नेपालले शीर्ष दुईमा पर्न भारत र बंगलादेश दुवै टिमलाई हराएर मात्र पुग्दैन अरु टिमको नजितामा भर पर्नुपर्छ।