नेपाल पुलिस क्लब लगातार सात जित निकालेर प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। यससँगै पुलिस फाइनलमा पुग्ने पहिलो टिम बनेको छ।
पुलिसले सोमबार भएको आफ्नो सातौं खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्यो।
मुलपानी मैदानमा ४५ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ३८.३ ओभरमा १७० रनमा अलआउट भयो। गण्डकीका लागि अमृत गुरुङले ५० रनको योगदान गरे।
बलिङमा पुलिसको रशिद खानले ५ विकेट लिए। उनले ६ ओभरमा २५ रन खर्चिए।
१७१ रनको लक्ष्य पुलिसले ४ विकेटको क्षतिमा २४.२ ओभरमा पूरा गर्यो। पुलिसका लागि दिलिप नाथले ५७ रन र अर्जुन साउदले नटआउट ४४ रन बनाए।
जितसँगै पुलिसले ७ खेलबाट १४ अंक जोड्यो। अहिलेसम्म अपराजित पुलिस अन्तिम दुई खेल बाँकी छदा शीर्ष दुईमा स्थान पक्का गर्दै फाइनलमा स्थान बनायो।