त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नजिक पुगेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिम प्रदेशमाथि ९७ रनको जित निकालेर आर्मी फाइनल नजिक पुगेको हो।
अन्तिम खेलअघि आर्मी १२ अंक जोडेर दोस्रो स्थानमा छ। अब बिहीबार गण्डकीलाई पराजित गरे आर्मीले नेपाल पुलिससँग शनिबार फाइनल खेल्नेछ।
यस्तै एपिएफ र सुदुरपश्चिमको नजितामा पनि आर्मीको फाइनल यात्रा तय हुनेछ। अन्तिम खेलमा पराजित भएको अवस्थामा पनि आर्मी फाइनल पग्न सक्छ। त्यसका लागि एपिएफ र सुदूरले बाँकी रहेका दुई खेल मध्ये एक खेल पराजित भए पुग्छ।
आर्मीलाई पछि पारेर फाइनल पुग्न एपिएफ र सुदुरले बाँकी रहेका दुवै खेल जितेर पुग्दैन रनरेटमा पनि अघि रहनु पर्छ। त्यसका लागि आर्मीले अन्तिम खेल हार्नुपर्छ।
सोमबार आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदूर ४०.१ ओभरमा १६५ रनमा अलआउट भयो। उसक लागि किरण ठगुन्नाले ६८ रन जोडे।
बलिङमा आर्मीका जितेन्द्र मुखियाले ५ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अलआउट भयो। आर्मीक लागि कुशल मल्लले ६७ बलमा १० चौका र ३ छक्काको मद्दतमा ७५ रन जोडे।
बलिङमा सुदूरका भोजराज भट्टले ६ विकेट लिए।