आइसिसी यू-१९ विश्वकपमा बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुकेका छन्।
दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका विशाल ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका छन्। उनले १०० बल खेल्दा ६ चौका प्रहार गरे। उनी ४३ ओभरमा आउट हुँदा नेपालले ८ विकेटको क्षतिमा १३८ रन जोडेको स्थिति थियो।
खराब सुरूवात गरेको नेपालले ९ ओभर चल्दा दुवै ओपनरसहित तीन विकेट गुमाएको थियो भने २९ रन जोडेको थियो।
ओपनिङ ब्याटर विपिन रावल चौथो ओभरमा २ रनमा आउट भए। आठौं ओभरमा आकास त्रिपाठी ३ रनमा क्याच भए। लगत्तै अर्को ओभरमा ओपनर अर्जुन कुमाल १४ रनमा आउट हुँदा नेपाल सुरूमै संकटमा परेको थियो। अर्जुनले २६ बलमा २ चौका प्रहार गरे।
त्यसपछि कप्तान देव खनाल र विशालले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरे। २८औं ओभरमा आउट हुनुअघि देवले ६० बलमा ३ चौकाको मद्दतमा ३५ रन बनाए।
देव आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो। गुल्सन झा, दिपक बोहरा र दिपेश कँडेल तीनै जना ३-३ रनमा आउट भएका थिए।
बलिङमा बंगलादेशका शेख जीवनले ३ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ३४ रन खर्चिए।
सुपर-६ को शीर्ष दुईमा पर्दै सेमिफाइनल पुग्ने सम्भावना नेपालको यसअघि नै समाप्त भइसकेको छ। त्यसैले नेपालका लागि आज बंगलादेश र शुक्रबार भारतविरूद्धको खेल प्रतिष्ठाको लडाइँ हो।