नेपाली यू-१९ टिमका ओपनिङ ब्याटर अर्जुन कुमाल आइसिसीको आचारसंहिता उल्लंघन गरेको आरोपमा दोषी ठहर गरिएको छ।
जनवरी ३१ मा भएको आइसिसी यू–१९ क्रिकेट विश्वकपमा खेलका क्रममा आइसिसीको आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुनलाई कारबाही गरिएको हो।
नेपाल र बंगलादेशबीचको खेलमा कुमालले आइसिसी आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको पाइएको थियो। जुन धारा खेलाडी, सहयोगी कर्मचारी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनैसँग अनुपयुक्त शारीरिक सम्पर्कसँग सम्बन्धित छ।
जसको परिणामस्वरूप उनले एक सस्पेन्सन अंक पाएका छन्। यसको अतिरिक्त उनको अनुशासन रेकर्डमा तीन डिमेरिट अंक थपिएको छ।
जब कुनै खेलाडीको २४ महिनाको अवधिमा चार वा सोभन्दा बढी डिमेरिट अंक पुग्छ, त्यो अंक निलम्बन अंकमा परिणत गरिन्छ र खेलाडीलाई प्रतिबन्ध लगाइन्छ।
दुई सस्पेन्सन अंक एक टेस्ट वा दुई एकदिवसीय वा दुई टी-२० को प्रतिबन्ध बराबर हो, खेलाडीको लागि जुन खेल पहिले आउछ त्यसमा प्रतिबन्ध लगाइन्छ।
अब अर्जुनले थप डिमेरिट वा सस्पेन्सन अंक पाएमा एक खेलमा प्रतिबन्ध झेल्नु पर्नेछ।
अर्जुनले नेपालको इनिङ्सको छैठौं ओभरमा रनका लागि दौडिदा बंगलादेशका बलर मारुफ मृधालाई कुहिनोले धकेलेका थिए।
कुमलले आफूले गरेको व्यवहार स्वीकार गरेका छन्।