आइसिसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत आज नेपालले सुपर सिक्सको खेलमा भारतसँग खेल्दै छ।
दक्षिण अफ्रिकाको मंगउङ ओभलमा नेपालले जारी संस्करणको यू-१९ विश्वकपको अन्तिम खेल भारतसँग खेल्न लागेको हो। नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ।
नेपाल समूहको शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुगेको थियो। समूह चरणको खेलमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको थियो भने अफगानिस्तानविरूद्ध जित निकालेको थियो। अफगानिस्तानलाई पराजित गरेपछि समूहको शीर्ष तीनमा रहँदै नेपाल सुपर सिक्समा पुगेको थियो।
सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।
यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिए नेपालका लागि भारतविरूद्ध आजको खेलमा राम्रो प्रदर्शन गर्ने चुनौती छ।
किनभने दुई महिनाअघि दुबईमा भएको एसिया कपमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको थियो। सो खेलमा कमजोर ब्याटिङ गर्दा नेपाल ५२ रनमै अलआउट हुन पुगेको थियो।
विश्वकपमा भने नेपालले भारतसँग तेस्रो पटक खेल्न लागेको हो। यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो।
सन् २००० मा कोलम्बोमा नेपाल र भारत यू-१९ विश्वकपमा भिडेका थिए। पहिले ब्याटिङ गरेर १०१ रन बनाएको नेपालका लागि सन्दीप श्रेष्ठले सबैभन्दा बढी २९ रन जोडेका थिए। बलिङमा भारतका युवराज सिंहले ४ विकेट लिएका थिए।
१०२ रनको लक्ष्य भारतले २ विकेटको क्षतिमा पूरा गर्दै ८ विकेटको जित निकालेको थियो। नेपालका विनोद दासले भारतका ओपनर मनिष शर्मालाई गोल्डन डकआउट गरेका थिए भने अर्का ओपनर रखनित रिकीलाई पारस लुनियाले ३५ रनमा आउट गरेका थिए।
तर कप्तान मोहमद कैफले नटआउट ५७ रन जोडेपछि नेपालमाथि भारतले सजिलै जित निकालेको थियो।
पछिल्लो पटक नेपाल र भारतबीच सन् २०१६ को विश्वकपमा प्रतिस्पर्धा भयो।
बंगलादेशमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १६९ रन जोड्न सकेको थियो। नेपालका लागि ओपनर सन्दीप सुनारले ३७ रन, आरिफ शेखले २६ रन, राजविर सिंहले ३५ रन र प्रेम तामाङले नटआउट २९ रन जोडेका थिए।
बंगलादेशमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १६९ रन जोड्न सकेको थियो। नेपालका लागि ओपनर सन्दीप सुनारले ३७ रन, आरिफ शेखले २६ रन, राजविर सिंहले ३५ रन र प्रेम तामाङले नटआउट २९ रन जोडेका थिए।
बलिङमा भारतका आवेस खानले ३ विकेट लिदा मंयक डागर र वासिङटन सुन्दरले २-२ विकेट लिएका थिए।
१७० रनको लक्ष्य भारतले १८.१ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्दै ७ विकेटको जित निकाल्यो।
उसका लागि ओपनरद्वय रिशव पन्तले ७८ रन र कप्तान इशान किसनले ५२ रन जोडेका थिए। पन्तलाई प्रेम तामाङले बोल्ड गर्दा सन्दीप लामिछानेले इशानलाई सुनील धमलाबाट क्याच गराएका थिए।