आइसिसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत अहिले नेपालले सुपर सिक्सको खेलमा भारतसँग खेलिरहेको छ।
दक्षिण अफ्रिकाको मंगउङ ओभलमा नेपालले जारी संस्करणको यू-१९ विश्वकपको अन्तिम खेल भारतसँग खेलिरहेको हो। खेलमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ।
भारतविरूद्ध नेपालले ४.५ ओभरमा पहिलो विकेट लियो। भारतका ओपनर आदर्श सिंहलाई नेपालका गुल्सन झाले विकेटकिपर उत्तर मगरबाट क्याच गराए। उनी १८ बलमा ४ चौका प्रहार गर्दै २१ रन बनाएर आउट भए।
नेपालले दोस्रो विकेट रनआउटबाट लियो। भारतका प्रियांशु मोलिया १९ रनमा रनटआउटको सिकार बने। सुरुमा उनले हानेको प्रहार अर्जुन कुमालले डाइभ हानेर क्याच लिने प्रयास गरेका थिए। त्यसपछि बाउन्ड्री लाइनमा दीपक डुम्रेले उत्कृष्ट बचाउ गरेका थिए। डुम्रेले बल फ्याँक्दा भारतका प्रिशांयु कुदेर चौथो रन लिने वा नलिने दोधारमा परे। जसमा नेपालका आकास चन्दले रनआउट गरे।
त्यसपछिको बल वाइड हुँदा अर्को बलमा आकासले भारतका ओपनिङ ब्याट्सम्यान अर्शिन कुलकर्नीलाई विकेटकिपर उत्तमबाट क्याच गराए। उनले ३० बलमा २ चौका प्रहार गर्दै १८ रन जोडे।
भारतले १४ ओभरमा ३ विकेट गुमाउँदा ६२ रन जोडेको स्थिति थियो।
भारतविरूद्ध खेल्ने नेपाली टिममा दुई परिवर्तन गरिएको छ। विपिन रावलको स्थानमा उत्तम मगर र दीपक बोहराको स्थानमा दीपक डुम्रे आएका छन्। यस्तै आकास त्रिपाठीको स्थानमा अर्का दिपक बोहराले स्थान बनाएका छन्।
नेपाल प्लेइङ ११ – अर्जुन कुमाल, दीपक बोहरा, उत्तम मगर, देव खनाल (कप्तान), विशाल विक्रम केसी, दीपक डुम्रे, गुलशन झा, दिपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता
नेपाल समूहको शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुगेको थियो। समूह चरणको खेलमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको थियो भने अफगानिस्तानविरूद्ध जित निकालेको थियो। अफगानिस्तानलाई पराजित गरेपछि समूहको शीर्ष तीनमा रहँदै नेपाल सुपर सिक्समा पुगेको थियो।
सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।
यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिए नेपालका लागि भारतविरूद्ध आजको खेलमा राम्रो प्रदर्शन गर्ने चुनौती छ।
किनभने दुई महिनाअघि दुबईमा भएको एसिया कपमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको थियो। सो खेलमा कमजोर ब्याटिङ गर्दा नेपाल ५२ रनमै अलआउट हुन पुगेको थियो।
विश्वकपमा भने नेपालले भारतसँग तेस्रो पटक खेल्न लागेको हो। यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो।
सन् २००० मा कोलम्बोमा नेपाल र भारत यू-१९ विश्वकपमा भिडेका थिए। पहिले ब्याटिङ गरेर १०१ रन बनाएको नेपालका लागि सन्दीप श्रेष्ठले सबैभन्दा बढी २९ रन जोडेका थिए। बलिङमा भारतका युवराज सिंहले ४ विकेट लिएका थिए।
१०२ रनको लक्ष्य भारतले २ विकेटको क्षतिमा पूरा गर्दै ८ विकेटको जित निकालेको थियो। नेपालका विनोद दासले भारतका ओपनर मनिष शर्मालाई गोल्डन डकआउट गरेका थिए भने अर्का ओपनर रखनित रिकीलाई पारस लुनियाले ३५ रनमा आउट गरेका थिए।
तर कप्तान मोहमद कैफले नटआउट ५७ रन जोडेपछि नेपालमाथि भारतले सजिलै जित निकालेको थियो।
पछिल्लो पटक नेपाल र भारतबीच सन् २०१६ को विश्वकपमा प्रतिस्पर्धा भयो।
बंगलादेशमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १६९ रन जोड्न सकेको थियो। नेपालका लागि ओपनर सन्दीप सुनारले ३७ रन, आरिफ शेखले २६ रन, राजविर सिंहले ३५ रन र प्रेम तामाङले नटआउट २९ रन जोडेका थिए।
बंगलादेशमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १६९ रन जोड्न सकेको थियो। नेपालका लागि ओपनर सन्दीप सुनारले ३७ रन, आरिफ शेखले २६ रन, राजविर सिंहले ३५ रन र प्रेम तामाङले नटआउट २९ रन जोडेका थिए।
बलिङमा भारतका आवेस खानले ३ विकेट लिदा मंयक डागर र वासिङटन सुन्दरले २-२ विकेट लिएका थिए।
१७० रनको लक्ष्य भारतले १८.१ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्दै ७ विकेटको जित निकाल्यो।
उसका लागि ओपनरद्वय रिशव पन्तले ७८ रन र कप्तान इशान किसनले ५२ रन जोडेका थिए। पन्तलाई प्रेम तामाङले बोल्ड गर्दा सन्दीप लामिछानेले इशानलाई सुनील धमलाबाट क्याच गराएका थिए।