आइसिसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर-६ को अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ।
शुक्रबार दक्षिण अफ्रिकामा भएको खेलमा नेपाललाई भारतले १३२ रनले पराजित गरेको हो।
भारतले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १६५ रन जोड्यो।
नेपालका लागि कप्तान देव खनालले सबभन्दा बढी ३३ रन जोडे।
दुर्गेश गुप्ताले नटआउट २९ रन र आकास चन्दले नटआउट १८ रन जोडे। उनीहरूबीच नटआउट ४५ रनको साझेदारी भएको थियो।
नेपालका ओपनरद्वय दीपक बोहराले ४३ बलमा ३ चौकाको मद्दतमा २२ रन र अर्जुन कुमालले ६४ बलमा ३ चौकाको मद्दतमा २६ रन जोडे।
उत्तम मगर ८ रन, विशाल विक्रम केसी १ रन, दीपक डुम्रे ०, गुल्सन झा १ रन, दिपेश कँडेल ० मा आउट भएपछि नेपालको मध्यक्रमको ब्याटिङ कमजोर बनेको थियो।
२२ ओभर चल्दै गर्दा दोस्रो विकेट गुमाउँदा नेपालले ६५ रन बनाएको थियो। बाँकी ५ विकेट नेपालले २८ ओभरसम्म थप १२ रन बनाउदा गुमायो।
त्यसपछि सुवास भण्डारी ५ रनमा आउट भए भने कप्तान नवौं विकेटको रुपमा आउट भए।
त्यसअघि दक्षिण अफ्रिकाको मंगउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २९७ रन जोड्यो।
भारतका लागि कप्तान उदय सहरन र सचिन दासले उत्कृष्ट ब्याटिङ गरे। उदय र सचिनबीच चौथो विकेटका लागि २१५ रनको साझेदारी भएको थियो।
सचिनले ११६ रन जोड्ने क्रममा १०१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे। यस्तै उदयले १०० रन जोडे। अन्तिम ओभरको चौथो बलमा आउट भएका उदयले १०७ बलमा ९ चौका प्रहार गरे।
त्यसअघि नेपालले १४ ओभरभित्र तीन विकेट लिए पनि त्यसपछि विकेट लिन नसक्दा भारतले विशाल योगफलतर्फ अघि बढेको थियो।
भारतविरूद्ध नेपालले ४.५ ओभरमा पहिलो विकेट लियो। भारतका ओपनर आदर्श सिंहलाई नेपालका गुल्सन झाले विकेटकिपर उत्तर मगरबाट क्याच गराए। उनी १८ बलमा ४ चौका प्रहार गर्दै २१ रन बनाएर आउट भए।
नेपालले १४औं ओभरमा दुई विकेट लिन सफल भएको थियो। भारतका प्रियांशु मोलिया १९ रनमा रनटआउटको सिकार बने।
सुरुमा प्रिशांशुले हानेको प्रहार अर्जुन कुमालले डाइभ हानेर क्याच लिने प्रयास गरेका थिए।
त्यसपछि बाउन्ड्री लाइनमा दीपक डुम्रेले उत्कृष्ट बचाउ गरेका थिए। डुम्रेले बल फ्याँक्दा भारतका प्रिशांयु कुदेर चौथो रन लिने वा नलिने दोधारमा परे। जसमा नेपालका आकास चन्दले रनआउट गरे।
त्यसपछिको बल वाइड हुँदा अर्को बलमा आकासले भारतका ओपनिङ ब्याट्सम्यान अर्शिन कुलकर्नीलाई विकेटकिपर उत्तमबाट क्याच गराए। उनले ३० बलमा २ चौका प्रहार गर्दै १८ रन जोडे।
बलिङमा नेपालका गुल्सन झाले ३ विकेट लिए। उनले १० ओभरमा ५६ रन खर्चिए। यस्तै आकास चन्दले १ विकेट हात पारे।
नेपाल समूहको शीर्ष तीनमा रहँदै सुपर-६ मा पुगेको थियो। समूह चरणको खेलमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको थियो भने अफगानिस्तानविरूद्ध जित निकालेको थियो
अफगानिस्तानलाई पराजित गरेपछि समूहको शीर्ष तीनमा रहँदै नेपाल सुपर-६ मा पुगेको थियो।
सुपर-६ को पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। सुपर-६ अघि नै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएकाले भारत र बंगलादेशविरुद्धको खेल प्रतिष्ठाको लडाइँमा सीमित भएको थियो।