दक्षिण अफ्रिका भएको आइसिसी यू-१९ विश्वकप क्रिकेट २०२४ खेलेर नेपाली युवा टिम सोमबार विहान स्वदेश फर्किएको छ।
प्रतियोगितामा नेपालले समूह चरणमा तीन खेल र सुपर-६ मा दुई खेल गरी पाँच खेलमा प्रतिस्पर्धा गरेको थियो।
समूहमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको नेपालले अफगानिस्तानमाथि भने एक विकेटको रोमाञ्चक जित हात पारेको थियो।
अफगानिस्तानलाई पराजित गरेपछि सुपर-६ मा पुगेको नेपालले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो। दुवै खेलमा पराजित भएको नेपाल समग्रमा एघारौं भयो।
नेपालले सन् २०१६ पछि पहिलो पटक यू-१९ विश्वकपमा सहभागिता जनाएको हो।