भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी गरेको छ।
बागमती प्रदेश सरकारले बजेट विनियोजन गर्ने निर्णय गरेपछि रंगशाला निर्माणको कम पुनः सुरू हुन लागेको मेयर रेनु दाहालले बताइन्।
मंगलबार बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले रंगशाला निर्माणका लागि लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र त्यसको स्रोत सुनिश्चित गर्ने निर्णय गरेको थियो।
दाहालका अनुसार भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारका बीचमा रंगशाला निर्माणका लागि पहिलो चरणमा ७५ करोड रुपैयाँ खर्च गर्ने र त्यसका लागि प्रदेशले ७०, महानगरले ३० प्रतिशत बजेट विनियोजन गर्ने सहमति भएको थियो।
सहमति अनुसार प्रदेश सरकारले बजेट विनियोजनको निर्णय गरेसँगै महानगरले टेण्डर आह्वान गर्ने तयारी गरेको छ।
‘महानगरपालिकाले अन्तर्राष्ट्रिय मापदण्डको खेल खेल्न लायक रंगशाला निर्माण गर्नेगरी लागत स्टिमेट गरिसकेको छ। हप्ता दिनभित्र टेण्डर प्रक्रिया अघि बढाउँछौं,’ शुक्रबारदेखि सुरू हुने भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका लागि एक्सपर्ट एजुकेसन तथा भिजा सर्भिसेज चितवनले प्रदान गरेको खेल सामग्री हस्तान्तरण कार्यक्रममा मेयर दाहालले भनिन्, ‘अब रंगशाला निर्माणको काम अघि बढ्यो।’
प्रदेश र महानगरको बजेटमा थप गर्न संघीय सरकारलाई पनि आग्रह गरी एक अर्ब रुपैयाँ बजेटको सुनिश्चित गरेर टेण्डर आह्वान गर्ने उनले बताइन्।
उनले रंगशालाको निर्माण सुरू भएको समयमा भारत र पाकिस्तानको खेल यहाँ खोलाउँछौं भन्दा धेरैले खिसिटिउरी गरे पनि अब खेल हुनेमा ढुक्क हुने अवस्था आएको दाबी गरिन्।
‘राष्ट्रिय गौरवको रंगशाला यहाँ बन्दैछ। हामी धेरै भाग्यमानी छौं। म धेरै उत्साहित छु। हाम्रो लक्ष्य सन् २०२७ मा अण्डर १९ विश्वकप क्रिकेट यहीँ खेलाउने छ,’ दाहालले भनिन्, ‘मैले विगतमा भारत र पाकिस्तानको खेल यहाँ खोलाउँछौं भन्दा धेरै खिसिटिउरी पनि गरिएको थियो। मान्छेलाई खिसिटिउरी गर्न टीकाटिप्पणी गर्न सजिलो छ। पार लगाउन, काम अगाडि बढाउन कति जटिल छ भन्ने कुरा पनि बुझ्नुपर्छ। तर पनि रंगशाला बन्छ, ढुक्क हुनुस् भनेर मैले पटक–पटक भनेको थिएँ। आज ढुक्क हुने अवस्था आएको छ। अब भारत र पाकिस्तानको म्याच पनि पक्कै हुन्छ।’
वर्षमा एउटामात्रै अन्तर्राष्ट्रिय प्रतियोगिता भयो भने पनि भरतपुरलाई मात्रै नभएर सिंगो देशको अर्थतन्त्रलाई फाइदा हुने उनको भनाइ छ।
‘क्रिकेट खेल्न भनेर भारत, पाकिस्तानका टिमहरू दुबई जान्छन्, अमेरिका जान्छन्। उनीहरूलाई त यहाँ अझै पायक पर्छ,’ उनले भनिन्, ‘धेरै चुनौतीका बाबजुत अप्ठ्याराहरूलाई पार गर्दै, दुःख, कष्ट सामना गर्दै फेरि निर्माण हुने चरणमा पुगेका छौं। सुत्केरी हुँदा महिलाले बच्चा देखेपछि पीडा भुलेजस्तो भएको छ।’
महानगरले रंगशाला निर्माणका क्रममा देखिएको जग्गाको समस्या पनि समाधान भएको दाबी गरेको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० विघा ६ कट्ठा जमिनमा रंगशाला निर्माण गर्ने सहमति गर्दा महानगरले अन्यत्रको जमिन सट्टाभर्ना गर्ने सहमति भएको थियो। तर महानगरले विश्वविद्यालयको जमिन प्रयोग गरेर सट्टाभर्ना नदिएको भन्दै आलोचना हुँदै आएको थियो।
मेयर दाहालले दुबै विश्वविद्यालयबाट सैद्धान्तिक सहमति लिएर २० वर्षका लागि जमिन लिजमा लिने सम्झौता भएको बताइन्।
‘रंगशाला निर्माण भएर सञ्चालनमा आएपछि वार्षिक ५ लाख रुपैयाँ भाडा तिर्नेगरी सम्झौता भएको छ। मन्त्रिपरिषद्बाट निर्माण, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिएकाले हामी अब जतिसक्दो छिटो निर्माण सकेर रंगशाला सञ्चालन गर्छौं,’ उनले भनिन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम धुर्मुस-सुन्तली फाउण्डेसनले सुरू गरेको हो।
२०७५ माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सम्झौता भएको हो।
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा सुरू भएको रंगशाला निर्माणको काम २०७८ साउन २३ गतेदेखि रोखिएको थियो। त्यतिखेर निर्माणको काम करिब ३५ प्रतिशत सकिएको थियो।
निर्माणको क्रममा आर्थिक संकट आए पनि उनीहरूले रंगशाला निर्माणको स्वामित्व महानगरलाई हस्तान्तरण गरेका थिए।
उनले रंगशाला निर्माण गर्दा १८ करोड ४३ लाख ४२४ रुपैयाँ उधारो बाँकी थियो। कोरोना महामारी, बिग्रँदो अर्थतन्त्र लगायतका कारण बोलकबोल भएको करोडौं रुपैयाँ उठ्न नसकेपछि फाउण्डेसनले यो परियोजनाबाट हात झिकेको थियो।
निर्माण रोकिएको लामो समयपछि गत चैतमा मन्त्रिपरिषद्को बैठकले रंगशाला निर्माणको काम अघि बढाउने निर्णय गरेको थियो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा माघ २६ गतेदेखि ‘भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता–२०८०’ आयोजना गर्न लागिएको छ।
‘ग्रासरूट क्रिकेट’ विकास गर्ने अभियानका साथ भरतपुरको महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सहआयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा यो प्रतियोगिता गर्न लागिएको हो।
यस प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका १० सामुदायिक र १० संस्थागत माध्यमिक विद्यालय गरी कुल २० टिमले सहभागिता जनाउने छन्।
विजयी हुने टिमले भरतपुर मेयर्स कप रनिङ ट्रफी, एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनको तर्फबाट विजेता र उपविजेताले क्रमशः ६० हजार र ३० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री पाउनेछन्।