क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालका मध्यक्रमका ब्याटरले खराब प्रदर्शन गरेका छन्।
४२ ओभर चल्दै गर्दा ७ विकेट गुमाएको नेपालले १८१ रन मात्र जोड्न सकेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दा अरु ब्याटर चल्न सकेनन्।
एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे।
कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।
यस्तै भीम सार्की १७ रनमा आउट हुँदा कुशल मल्लले पनि २० रनमा आउट भए। आरिफ शेख ३८ रन जोड्दा नेपालको स्कोर बढेको थियो। आरिफले ५० बलमा ४ चौका प्रहार गरे। पवन सर्राफ पनि १५ रन जोड्दा क्यानडाका शाहिद अहमजाइको एलबिडब्लूको धरापमा परे।
नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।