बायाँ हाते तीव्र गतिका बलिर रिजन ढकालले बिहीबार नेपाली राष्ट्रिय टिमबाट एकदिवसीय खेलमा डेब्यू गरे।
क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा डेब्यू गरेका उनले आफ्नो स्पेलको पाँचौं बलमा विकेट लिन सफल भएका थिए। नेपालले ७ रनले जितेको खेलमा रिजनले क्यानडाका ओपनिङ ब्याटर नवनीत धलिवाललाई ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए।
राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमा नै डेब्यूको अवसर पाएका उनले खुसी व्यक्त गरेका छन्।
'सबै खेलाडीको एउटै सपना हुन्छ, राष्ट्रिय टिममा पर्ने र डेब्यू खेल खेल्ने। टिममा परेलगत्तै डेब्यू गर्न पाउँदा एकदमै धेरै खुसी लागिराखेको छ,' उनले डेब्यू खेलबारे भने, 'पहिला एक दुई बललाई नियालेपछि विकेट लिन सफल भएँ।'
उनले डेब्यू खेल भए पनि कुनै दबाब नलिई सामान्य खेलझैं खेलेको बताए।
'पहिला नेपालको यस्तो खेलहरू बाहिर बसेर हेरिएको थिएँ, तर म आफैं यत्रो धेरै दर्शकहरूको अगाडि पहिलो पटक खेल्दै थिएँ। यो सबै कुराहरू भन्न एकदम गाह्रो हुन्छ, मैले दबाबभन्दा पनि उत्साहित भएर खेलेँ।'